क्यानडाको टोरेन्टो विश्वविद्यालय साहित्यमा पिएचडी गरेको हुँ भन्दै सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।गरिब र विपन्न वर्गलाई विभिन्न सीपमूलक तालिम दिने र वैदेशिक राहत सहायत दिलाउने आश्वासन दिँदै कर्मचारी परिचालन गरेर सदस्य बनाउँदै सर्वसाधारण ठगी गर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामवलीकुमार दनुवार पक्राउ परेका हुन् ।
सुनसरीको इनरुवा नगरपालिका– १ मा शाखा खोलेर ३७ जना कर्मचारी नियुक्त गरी एक हजार एक सय ९७ जनालाई ठगी गरेको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको हो । पिएचडी गरेको बताउने दनुवारका बारेमा प्रहरीले गरेको अनुसन्धानअनुसार उनले जम्मा १० कक्षासम्म मात्र पढेको देखिएको छ ।प्रहरीका अनुसार दनुवारले आफूलाई डाक्टर बताउँदै क्यानडाको तिलिजा रोवर्ट नामको संस्थासँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै प्रदेश १ र २ अनि लुम्बिनी प्रदेशमा शाखा खोलेर सर्वसाधारणलाई सदस्य बनाएर ठगी गर्ने गरेका थिए ।
उनले संस्थाको सदस्य बनेबापत एक सयदेखि एक हजारसम्म शुल्क लिने गरेका थिए ।उनले सरस्वती सिलाइ प्रशिक्षण केन्द्र रहेको र सप्तरीको माहुली र सुनसरीको इनरुवामा शाखा खोलेर प्रशिक्षण दिलाउन लागेको भन्दै सर्वसाधारणबाट भर्नाबापत जनही एक हजार शुल्क ठगी गर्ने गरेका थिए ।उनले आफ्नो तालिम केन्द्रको दर्ता नं. ५९१६० रहको प्रधान कार्यालय रुपन्देहीको भैरहवा अनि महोत्तरीको गौशाला, सिराहा र धनुषामा पनि शाखाहरू खोलेर सिलाइबुनाइ, साबुन, मैनबत्ती बनाउने तालिम दिइरहेको अनि वैदेशिक सहायताबाट आएको राहत पनि वितरण गर्ने गरेको भन्दै सर्वसाधारणलाई सदस्य बनाउन लगाउने गरेका थिए ।
उनले तालिम केन्द्रको आफू महानिर्देशक भएको र मासिक एक लाख तलब खाने गरेको भन्दै प्रशिक्षण केन्द्रमा कर्मचारी, स्वास्थ्य निरीक्षक, उपमहानिर्देशक, कार्यालय प्रमुख, सहकार्यालय प्रमुख, लेखापाल, स्वकीय सचिव, निरीक्षक, कार्यालय सहयोगी र गार्डजस्ता पद सिर्जना गरेर परिचालन गर्ने गरेका थिए ।उनले कर्मचारीलाई दर्जाअनुसार ११ हजारदेखि ५४ हजारसम्म पारिश्रमिकसमेत तोकेर ३७ जना कर्मचारी नियुक्त गरेका थिए ।तर, पारिश्रमिक भने कसैलाई दिएका थिएनन् ।