spot_img

प्यारा छोरीहरू पलपल मर्दै बस्नु नपरोस् भनेर छाउगोठ भत्काउन जाँदैछु!’

spot_img

राति अबेर फर्किँदा छोरी निदाइसकेकी थिई। सानो छोरो मध्य पुसको जाडोमा सिरकसँग लुट्पुटिएको थियो। श्रीमती मेरो बाटो हेर्दै। निदाउनुअघि ’बाबा कतिबेला आउने?’ भन्दै दुवैले बाबालाई खुब पर्खिए भन्दै थिइन् उनी।भोलिपल्ट शनिबार, छाउगोठ भत्काउने अभियानमा सदरमुकाम मंगलसैनबाट ८० किलोमिटर टाढा सोकट जाने योजना बुन्दा अबेर भएको थियो। निदाइसकेका छोरीछोरा अब मलाई एकैचोटि पर्सि बिहान देख्नेवाला थिए। केही दिनयता नियमित कामकाजका अतिरिक्त अछाममा सदियौंदेखि कुरीतिको रूपमा रहेको छाउपडी प्रथा उन्मूलनको अभियानमा लागेकाले बढी व्यस्त छु।

पोहोरदेखि सुरू भएको अभियानमा ६ हजार छाउगोठ भत्काइएको तथ्यांक थियो। तथ्य यो पनि थियो कि पछिल्लो दशकमा छाउगोठमा १० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। बलात्कृत हुने, हिंसा खेप्ने, सर्प(कीराको टोकाइ सहनेको त हिसाबै छैन।नभन्दै सबेरै हिडेँ। अघिल्लो हप्ता यसैगरी हिँड्दा ४ बजे खाना खाएको उदाहरण दिँदै श्रीमती ’रोटी खाएर जानू, बाहिर खानाको टुंगै हुँदैन’ भन्दै थिइन्।’आज चाहिँ बेलैमा हुन्छ’ भन्दै तर्किएँ। छोरीतिर फर्किएँ। ’बाइ’ भनेँ। के फर्काउँथी डल्लो परेर सुतेकी डल्ली!

सोचेबाबासँगै सुत्न मन पराउने। लेखपढ गर्दा समेत काखैमा राखेर थप्थपाउँदै सुताउनु पर्ने। मेरी छोरीजस्तै मायालु हुनुपर्ने सबैका छोरी। तर, छोरीलाई छाउगोठमा पठाएर आफू घरभित्रै सुत्ने बाबाहरूको मनमाथि शंका लागेर आयो।तिमीजस्तै प्यारा छोरीहरू पलपल मर्दै छाउगोठमा बस्नु नपरोस् भनेर छाउगोठहरू भत्काउन जाँदैछु छोरी!

जसरी तिमी हरेक राति बाबालाई अँगालो हाल्दै सुत्छौं, कैयौं मृत्युहरू निसास्सिँदो छाउगोठ वरिपरि त्यहाँ बस्ने कसैकी छोरी, कसैकी बुहारी, कसैकी दिदी, कसैकी बहिनी, कसैकी आमा, कसैकी फुपू, कसैकी काकी, कसैकी भाउजू, यस्तैयस्तै साइनो पर्ने किशोरी वा महिलालाई अँगालो हाल्न मडारिन्छन् होला!

मान्छेहरू मलाई भन्छन्, ’छाउगोठ भत्काउनुअघि चेतना दिनू, शिक्षा दिनू। अनि मात्र भत्काउनू।’तर आगो छुँदा पोल्छ, सबैलाई थाहा हुन्छ। राति घर बाहिर जानु हुन्न, नजान्ने पनि कोही छैन।छोरी, तिमी पाँच वर्षकी हुँदा त यो सबै थाहा पाइसक्यौ। घरबाहिर, त्यो पनि अमानवीय ढंगले कैयौं दिन छाउगोठमा राख्नु हुन्न भन्ने पनि सिकाउनु पर्ला र? त्यत्ति थोरै चेतना नभएका मान्छे पनि हुन्छन्!

छोरी, म तिमी जत्रैजत्रै हुँदा गोलाइको घरको बार्दलीमा टोलाएर बसिरहँदा दिनभरी चर्न गएका गाईगोरु अँध्यारो हुन लाग्दा आफैं घर फर्किन्थे। परैबाट अम्म्माऽऽऽ गर्दै आएको जनाउ दिन्थे। मेरी आमा बाहिर आउँथिन्, पानीको व्यवस्था गर्थिन्। उनीहरू सुरुऽऽऽ सुरुऽऽऽ पानी पिएर किलो दाम्लो छेउ जान्थे। चौपायालाई त्यति चेतना हुने, तर छाउपडी मान्ने अभिभावकलाई त्यति थाहा नहुने होला त?

उफचौपाया जत्तिको सम्भार छैन यहाँ छोरी मान्छेको। चौपायाले कहिल्यै गोठविहीन हुनु पर्दैन। तर छोरी मान्छेले पशुभन्दतुच्छ व्यवहार भोग्नुपर्छ।अरू बेला सबै घरधन्दा गर्ने महिला, छाउ रजस्वला हुँदा घरबाहिर लखेटिनु पर्ने, कालकोठरी जस्ता छाउगोठमा बस्न। बिना कुनै अपराध गरिने यस्ता व्यवहार र विभेद सुन्यौ भने तिम्रो अबोध मस्तिष्कले ममाथि प्रश्न बाणहरू तेर्स्याउनेछ। देख्यौ भने तिम्रो मन छियाछिया हुनेछ। कथंकदाचित भोग्यौ भने?

उफ मनै गह्रुँगो भएर आउँछ। कल्पना गर्नै सक्दिनँ।किनकि रजस्वला हुँदा किशोरी तथा महिलालाई सार्वजनिक स्थान प्रयोग र प्रवेशमा बन्देज लगाइन्छ। धार्मिक सांस्कृतिक कार्यमा सहभागी गराइँदैन। धारामा जान दिइँदैन। दूध(दहीजस्ता गोरस खाने अनुमति हुँदैन। सँगै बसे देउता रिसाउने, अनिष्ट हुने भन्दै अलग्गै राखिन्छ। अमानवीय ढंगले उनीहरू छाउगोठमा बस्न विवश हुनुपर्छ।

उज्यालो भित्र्याउने एउटै झ्याल नभएका, दुई फिट अग्लो ढोका भएका, तीन फिटजति चौडाइ र ४ फिटजति लम्बाइका। कालकोठरीझैं छाउगोठमा किशोरी तथा महिलाले महिनैपिच्छे ५(६ दिन यातना भोग्नुपर्ने प्रथा विद्यमान छ।यो सुन्दा तिमीले कहिलेकाहीँ दुवै कानमा बुढी औंला राखेर जिब्रो बाहिर निकाल्दै, मुख बिगार्दै बाँकी चार औंलाले बोलाएझैं गरी लाऽऽऽ लाला लाऽऽऽला भन्दै बाबालाई खिसी टिउरी गरेझैं, छाउगोठका कारण संविधानमा उल्लेख समानताको हकको खिसी टिउरी भएझैं लाग्छ।

किन छाउगोठ भनी सोध्दा जवाफ आउँछ( ’घरभित्र राखे देवी रिसाउँछन्। देउता रिसाउँछन्।’यस्तो लाग्छ छाउ प्रथाको नाममा देवीदेउता नै बदनाम छन् यहाँ। बम्बई जाने बेला छाउ हुँदा तिनका देउता रिसाउँदैनन्। सँगै खान, एउटै कोठामा बस्न मिल्छ। कुनै काम विशेषले घर छोडेर सँगै सदरमुकाम जाँदा छाउको मतलब नहुने तर, घरमा हुँदा रिसाउने ती देवीदेउता त्यति विधि मतलबी होलान् र? कि देउताको ’फ्रिक्वेन्सी’ त्यही घर, छाउगोठ र धारा आसपास मात्रै टिप्छ?

कालिका, मालिका, शैलेश्वरी, त्रिपुरासुन्दरी, उग्रतारा, षोडशा, सुर्मादेवी जस्ता देवी नै देवीको भूमि सुदूरपश्चिमी पहाडमा मन्दिरकी देवीलाई धूमधाम पूज्ने, घरकी देवी छाउगोठमा सुत्ने बिडम्बना छ। भौतिक रूपले नदेखिने छाउगोठको छुट्टै छायालोक भएझैं लाग्छ यहाँ।छाउपडी प्रथा उन्मूलन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायक जिल्ला न्यायाधिवक्ता र प्रहरी नायब उपरीक्षक भएको तीन सदस्यीय संयन्त्र। संयन्त्र गठन भएको एक वर्षमा यसरी एकसाथ स्थलगत अनुगमन गर्न हिँडेको पहिलो अवसर हो। साथमा, सशस्त्र प्रहरी नायब उपरीक्षक, सहायक प्रमुख जिल्ला अधिकारी, नापी अधिकृत, खरिदार, सुरक्षाकर्मी र पत्रकार।

मनमा नानाथरी कुरा उम्लिरहँदा मंगलसैन(साँफे सडकका सयौं मोड पार गरिसकेको थिएँ। तर सुदूरपश्चिमका महिलाले महिनावारीपिच्छे भोग्नुपर्ने कठिनाइका मोडबारे प्रश्नहरू झन् बल्झिँदै थिए। यो भेगमा वर्षैपिच्छे सन्तान जन्माउन रूचाउने एउटा कारण कतै छाउगोठको अमानवीय व्यवहार त होइन?चौरपाटीको सिउँडी पुग्यौं। खाना हामीलाई कुरिरहेको थियो। बिहान श्रीमतीले ’अस्तिको जस्तो चार बज्ला नि!’ भनेको सम्झिएँ। पहिलो गाँस हाल्न लाग्दा सोफाको ह्यान्डलमा बसेर बिहानबेलुकै बाबालाई खाना खुवाइ माग्ने छोरीलाई सम्झिएँ। उसले खाई होला कि नाई? हुन त अब, न सोधेर फाइदा छ, न सोचेर। युट्युब हेर्दै खाई त होली भन्दै खान सुरू गरेँ।

सिउँडीबाट सोकट गइरहँदा गैरिलेक पर्तिर कान्लामाथिको छाउगोठ जस्तो संरचनाले अघि बढ्न दिएन। रोकियौं। बुट बजार्दै त्यो सानो झुपडीमा सुरक्षाकर्मी पुग्दा ओखलछेउ चामल निफनिरहेकी किशोरी झस्किइन् सायद। कापिँरहेका हातले त्यही भनिरहेका थिए।मैले नरम भएर कुरा गर्दा ५ कक्षामा पढ्ने ११(१२ वर्षीया नानीले भनिन्, ’हम्रा घरमा त कोई छाउ हुँदाइन्। छाउगोठ छैन।तलको गाउँ देखाउँदै सोध्यौं, ’ऊ त्यो गाउँमा छन् त?’’त्यहाँ पनि पोहोर सालै ओदारेका हुन्। आछिन।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img