रूपक यात्री,ललितपुर
काठमाडाैँ उपत्यकाकाे चर्चित पर्यटकिय गन्तव्य हाे लाँकुरी भञ्ज्याङ। ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर १० मा पर्ने लाँकुरी भञ्ज्याङ पर्यटकहरूकाे प्रमुख राेजाइकाे केन्द्र नै बनेकाे छ। २ हजार मिटरको उचाइमा रहेको लाँकुरी भञ्ज्याङबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । अनि, काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ । जंगलसँगै पदमार्ग साइकलिङ लगाएत पर्यटनकाे प्रचुर सम्भावना छ।
तमाङ जातिको मुख्य बसोबास रहेको यो ठाउँ पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ। ग्वार्कोबाट लुभु–लामाटार–लाँकुरी भन्ज्याङ–माने दोभान–पनौती–बनेपा–धुलिखेलसम्मको साइकिलिङ रुट बनाउन सके विदेशी पाहुनाहरूलाई समेत आकषिर्त गर्न सकिन्छ। फुलचोकी डाँडासँग जोडिएको लाँकुरी भन्ज्याङबाट फूलचौकी पदयात्रा गर्न सकिन्छ। यो भन्ज्याङबाट १ किलोमिटरको दूरीमा रहेको श्रीङ्गी गुफाको पदयात्रा पनि रोमाञ्चक हुन्छ। श्रीङ्गी गुफा परापूर्वकालमा श्रीङ्गी ऋषिको वासस्थान मानिन्छ। लाँकुरी भन्ज्याङ जस्तो रमणीय पिकनिक तथा ऐतिहासिक स्थलमा रमाइलो गर्न एकपटक अवश्य पुग्नै पर्ने हुन्छ। खाजा पसल देखि सुविभा सम्पन्न रिसाेर्टसम्मकाे सुविधाहरू यस ठाउँमा पाउन सकिन्छ।
महालक्ष्मी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष विजय लामाले लाँकुरीकाे सुन्दरता र पर्यटकिय गन्तव्यमा मनमाेहन पार्क समेत थपिएकाे जानकारी दिए। निर्माणकाे अन्तिम चरणमा रहेकाे पार्कमा भ्यु टावर समेत गरिएकाे छ। पार्क खुल्ला भएकाे र अव भ्यु टावर पनि चाँडै सञ्चालन हुने बताउँदै पर्यटकलाइ १ पटक अवश्य घुम्न अपिल समेत गरे।
कसरी पुग्ने लाँकुरी भन्ज्याङ?
लगनखेलबाट लुभु–पनौती जाने गाडी चढ्न सकिन्छ। लगनखेलबाट लुभु ७ किलोमिटर अनि लुभुबाट साढे ५ किलोमिटर गरी जम्मा साढे १२ किलोमिटरमा लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ। उपत्यकाको धेरै नजिक पर्ने यो पिकनिक स्थल धेरै उचाइमा रहेकाले पर्यटककाे राेजाइमा पर्ने गरेकाे छ।
























