रुकुमः विवाद मिलाउन प्रहरी चौकीमा जुटेका वडाध्यक्षहरुबीच कुटपिट, प्रहरीद्वारा हवाइ फायजाजरकोटः रुकुम पश्चिममा नेकपा (दाहाल–नेपाल समूह) र कांग्रेसका कार्यकर्ताबीचको विवाद समाधान गर्न प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा वडाध्यक्षहरुबीच कुटपिट भएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर समेत गर्नुपरेको थियो ।
आठबीसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको हो । उनलाई वडा नम्बर ३ का अध्यक्ष केशरमान विक र वडा नम्बर ८ का अध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलमा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताए ।
शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेका छन् ।प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले २५ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।जिल्लाबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि स्थित नियन्त्रणमा आएको उनले बताए । प्रहरीले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको छ । आठबीसकोटमा खानेपानी, बस काउण्टर लगायत विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।