पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले एमाले नभएको आरोप लगाएका छन् । सुर्खेतमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले एमालेका निम्ति कहिले पनि त्याग र समपर्ण नगरेको र उनी एमाले संस्थापन पक्ष पनि नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओली कहिल्यै पनि नेकपा एमाले नभएको अध्यक्ष नेपालले बताए । ‘उहाँ कहिले एमाले हुनुभयो ? जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धात आफै नमान्ने भनेर हस्ताक्षर गर्नु भएको उहाँले नै हैन् ?’ उनले भने,‘त्यसैले बहुमत सदस्य हामीसँग छ । सुर्य चिन्ह र पार्टी नाम पनि हाम्रै पक्षमा आउनेछ । उहाँले सुर्य चिन्ह पार्टी कहिल्यै पाउनु हुन्न ।’
सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताए । प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष, प्रधानमन्त्री दुवै आफैँ भएका कारणले मैले जे गरे सही गरे, आफुले जे ठानेको छु त्यो नै सही हो भनेर पार्टी निर्णय विपरित एकलौटी सरकार र पार्टी चलाउन खोजेको अध्यक्ष नेपालले बताए । ‘प्रधानमन्त्री ओलीले आफुले गरेको सबै काम सही हो भन्न थालेँ । त्यो कुरा जनता र पार्टीले पत्याएन ’ उनले भने,‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो ।’
प्रधानमन्त्री ओलीले जनताका समस्याभन्दा पनि पहिलो आफ्नो गुटको भलो चिताउने काम गरेको अध्यक्ष नेपालले बताए । ‘उहाँले सरकारले बजेट ल्याउदा पनि पार्टीमा सल्लाह गर्नुभएन् । त्यही विरोध भयो । उहाँले विकासका कुरा गर्नुभयो काम गर्नुभएन् । त्यो कुरा जनताले पत्याएनन् ।’ उनले भने,‘निरोले रोम जलिरहेको बेला बासुरी बजाए झैँ अरु केही गर्नुभएन । देश महामारीको संकटमा रहेको बेला पनि उहाँ देश र जनताकोभन्दा आफ्नो गुटको भलो चिताउन भ्रष्टाचारमा व्यस्त रहनुभयो ।’