जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुलाई मान्य हुने बताएका छन् ।सप्तरीको राजविराजमा शुक्रवार प्रेस मञ्च नेपाल र प्रेस नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले लोकतन्त्रमा निर्वाचनबाट भाग्न नमिल्ने तर्क गरे ।लोकतान्त्रिक शक्तिका नाताले आफूहरु अदालतको निर्णय मान्ने र निर्वाचनमा भाग लिने महतोको भनाइ थियो ।
जनता समाजवादी पार्टी पनि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको छ । संसद पुनःस्थापना र निर्वाचन दुवैले मुलुकमा स्थायित्व दिन नसक्ने दावी महतोले गरे । उनले सर्वस्वीकार्य संविधान बनाएर पूर्ण समावेशी अभ्यासमा मुलुकलाई अघि नबढाएसम्म स्थायित्व हुन छाँटकाँट आफूले नदेखेको उनको भनाइ थियो ।प्रधानमन्त्री केपी ओली प्रतिगमनको कित्ताको नेता भएको जिकिर गर्दै उनले अव उनको अन्त्य हुने ठोकुवा गरे । पछिल्लो समयमा समाजिक सन्जालहरुमा महतोसहित जसपाका केही नेता प्रम ओलीसँग मिलेको खवर बाहिरिएकोप्रति लक्षित गर्दै उनले ओली र उनको समूह आफनो नाम बेचेर आत्मसन्तुष्टिमा रमाउन खोजेको भन्दै त्यसप्रति कुनै टिप्पणी नगर्ने पनि बताए ।