आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग– २ अन्तर्गत मंगलबारको खेलमा नेपालले नेदरल्याण्डसलाई २३७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३६ रनको योगफल बनाएको हो।
यद्यपि नेपाली खेलाडीले नियम मिचेको भन्दै अम्पायरले नेदरल्याड्सलाई दुईपटक ५–५ पेनाल्टी रन दिएका छन्। अहमद पटक–पटक पिचमा दौडिएको भन्दै अम्पाएरले कारबाहीस्वरूप विपक्षी टिमलाई पेनाल्टी रन दिएका हुन्।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन जोडे । ८५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। भीम सार्की र रोहित पौडेलले समान ३५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १८ रन जोडेर पेभेलियन फर्किए।
यसैगरी, दिपेन्द्र सिंह ऐरी १६, बसिर अहमद र करण केसी समान ११, तथा अनिल शाह २ रन बनाएर आउट भए। सन्दीप लामिछाने २ रन जोडेर रन आउट हुँदा नन्दन यादव १० रन बनाएर नटआउट रहे।
नेदरल्याण्ड्सका पल भान मिकरिनले चार, माइकल लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए।