काठमाडौं,नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु ६ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनले भने, ‘नेपाल प्रहरीको डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर रु ६ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको हो।’
पक्राउ परेकामध्ये ज्ञानबहादुर २०७० फागुन २० गते हातहतियार तथा खर खजानासम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र २०६७ कात्तिक ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए।