२४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकलाई उद्धृत गर्दै बिबिसी हिन्दीले २०४ जनाको शव भेटिएको पुष्टि गरेको छ।
मलिकका अनुसार केहीको अस्पतालमा उपचार भइरहेको छ भने राहत तथा उद्धार कार्य पनि जारी छ। गुजरातको अहमदाबादबाट लन्डनका लागि दिउँसो १ः३८ बजे उडान भरेको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) दुई मिनेटपछि नै दुर्घटनामा परेको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक सवार थिए।
दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।