भिजिट भिसा प्रकरणमार्फत भएको मानव तस्करी र ठगीका कारण १३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभा सुचारु गर्न तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादीबिच प्रारम्भिक सहमति जुटेको छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग मस्यौदामा समावेश छैन । तीन दलले तयार पारेको दुईबुँदे सहमतिमा अख्तियारले भिजिट भिसा र अध्यागमनसम्बन्धी गर्ने छानबिनमा पूर्ण सहयोग गर्ने र सरकारद्वारा आवश्यक नीतिगत, कानुनी तथा संरचनागत सुधारका लागि कदम चालिने उल्लेख छ । यद्यपि, रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट कार्यादेश र टाइमलाइनसहितको उच्चस्तरीय संसदीय छानबिन समिति गठनको मागमा अडिग छ ।
बिहीबार सत्ता र विपक्षी दलहरूले संयुक्त र छुट्टाछुट्टै छलफल गरे पनि सहमतिले अन्तिम रूप दिन सकेन । अवरोधबिच ६ मिनेट बैठक चलाएका सभामुख देवराज घिमिरेले सहमति खोज्नका लागि प्रतिनिधिसभा शुक्रबार १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
सदन स्थगितपछि संसद् भवनको ल्होत्से हलमा कांग्रेस, एमाले र माओवादीका नेता छलफलमा जुटेका थिए । सोही छलफलमा सहमतिको दुईबुँदे मस्यौदा तयार भएको हो । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे, एमालेबाट सचिव योगेश भट्टराई र मुख्य सचेतक महेश बर्ताैला तथा माओवादी उपमहासचिव शक्ति बस्नेत र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
एमाले सचिव योगेश भट्टराईका अनुसार मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा र अध्यागमनबारे अख्तियारले गर्ने छानबिनलाई पूर्णतः सहयोग गर्ने, अख्तियारले मागेको सहयोग सरकारले दिने उल्लेख छ । दोस्रो बुँदामा अध्यागमन भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारे सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी, संरचनागत सुधारका लागि आवश्यक कदम चाल्ने उल्लेख छ ।
माओवादी उपमहासचिव शक्ति बस्नेतले छानबिनको प्रतिबद्धताबारे सरकार, कांग्रेस र एमालेको प्रतिक्रिया सकारात्मक रहेको बताए । ‘दुई वा तीनबुँदेवरिपरि सकारात्मक छलफल भएको छ । छलफल गर्दै जाँदा धेरै विषय ठाउँमा आउँछ, शुक्रबारसम्म निष्कर्षमा पुग्ने प्रयास छ,’ उनले भने ।
एमाले सचिव भट्टराईले दुईबुँदे मस्यौदामा शुक्रबार हस्ताक्षर हुने बताए । ‘तीन दलबिच दुइटा बुँदामा सहमति भयो । मस्यौदामा शुक्रबार प्रमुख दलका सचेतकले हस्ताक्षर सहमति भएको छ । भोलिदेखि संसद् सुचारु हुन्छ,’ उनले भने ।
रास्वपाले शुक्रबारसम्म समय मागेको र त्यसपछि आएर सहमति गर्ने भट्टराईको भनाइ छ । ‘सरकारले आफैँ संरचना बनाएर छानबिन गर्छ । समस्याग्रस्त विषयमा सुधार गर्छ । कानुनी सुधार गर्न संसद्मा विधेयक ल्याउँछ,’ उनले भने, ‘तर, संसदीय समिति बन्दैन । तीन दल यसभन्दा पछाडि हट्दैनौँ ।’
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले तीन दलबिच साझा धारणा बनेको बताए । ‘तीन दल एकै ठाउँमा छौँ । छलफल सकारात्मक छ, भोलि सहमति भएपछि सार्वजनिक गर्छाैँ,’ उनले भने ।
भिजिट भिसा प्रकरणमा सत्तापक्षले अघि सारेको अध्ययन र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रस्तावमा रास्वपा सहमत भएको छैन । पाँचबुँदे मस्यौदा प्रस्तुत गरेको रास्वपा स्पष्ट टिओआर र टाइमलाइनसहित उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडानमा छ ।
रास्वपा उपसभापति डिपी अर्यालले सत्तापक्षबाट छानबिनको प्रतिबद्धता आएको बताए । छानबिनको मोडालिटी, टिओआर र टाइमलाइनबारे छलफल हुन बाँकी रहेको उनको भनाइ छ । ‘सत्तापक्षले दुई बुँदा र हामीले पाँच बुँदा अघि सारेका छौँ । आज उहाँहरू (सत्तापक्ष)बाट मिलाएर जानुप¥यो, मध्यविन्दुमा आउनुप¥यो भन्ने अनुरोध आयो । सबै प्रतिपक्षीहरूको माग छानबिन हुनुप¥यो भन्ने छ । छानबिनमा गइसकेपछाडि स्वतः नैतिकताका आधारमा राजीनामा दिने कुरो आइहाल्छ भन्ने छ,’ उनले भने, ‘यसमा छलफल चलिरहेको छ । टुंगिएको केही पनि छैन । भोलिसम्म अब केही गर्न सकिन्छ कि छलफल गरौँ भन्ने भएको हो ।’
स्पष्ट टाइमलाइन र टिओआरसहित छानबिन समिति बनाउने न्यूनतम बटमलाइन भन्दै अर्यालले शुक्रबार पनि निरन्तर छलफल गरेर सदन बैठकअघि टुंग्याउन प्रयास गरिने बताए । ‘उहाँहरू (सत्तापक्ष) अध्ययन र छानबिन भन्ने विषयमा अडिरहनुभएको छ । हामीले स्पष्टसँग छानबिन समिति हुनुप¥यो, टाइमलाइन र टिओआर हुनुप¥यो भनेका छौँ,’ उनले भने ।
भिजिट भिसा प्रकरणमा प्रहरीको अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान थाल्ने
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करी र ठगीको अनुसन्धान अब काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि गर्ने भएको छ । विमानस्थलका कर्मचारीले अख्तियारको दुरुपयोगसँगै गिरोहसँग मिलेर संगठित तवरले मानव तस्करी नै गर्ने गरेको विवरण फेला पारेपछि घटनाको अनुसन्धान गर्न अख्तियारले नेपाल प्रहरीको प्रधान कार्यालयलाई पत्र पठाएको थियो । प्रधान कार्यालयले उक्त पत्र अपराध अनुसन्धान कार्यालयलाई पठाएको हो ।
गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित कविता पौडेल, बालकृष्ण खड्का र भरत सुवेदीलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई तारेखमा छाडेका थिए । उनीहरूविरुद्ध अख्तियारले अहिले थप अनुसन्धान गरिरहेको छ । भिजिट भिसामा विदेश पठाइदिने आश्वासनमा ठगिएका तीन पीडितहरूले पनि मंगलबार अख्तियारमा उजुरी दिएका थिए । नयाँ पत्रिकामा खवर छ।