भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर १८ दिन संसद् बैठक बन्धक बनाएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र अन्ततः अडानबाट पछि हटेको छ । जेठ १३ गते संसद् बैठक बस्नुअघि माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एकीकृत समाजवादी लगायत विपक्षी दलहरूसँग मिलेर लगातार संसद् बैठक बन्धक बनाएका थिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, २०६४ सालदेखि भएका अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गर्नुपर्ने माग राखेका थिए ।
तर जेठ २४ गते माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कुराकानी भएपछि गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेको थियो । यद्यपि उच्चस्तरीय छानबिन समिति गठनमा आफ्नो अडान कायमै रहेको बताउँदै आएको थियो । शुक्रबार बिहान मात्रै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने दाबी गरेका थिए।
‘सत्तापक्षसँग कुनै सहमति भएको छैन । छानबिन समिति गठन गर्न तयार नभएसम्म संसद्को अवरोध कायमै रहन्छ’, उनले भनेका थिए । तर पाण्डेले दाबी गरेको ६ घण्टा नबित्दै पूर्व अडानबाट पछि हटेर दुई बुँदे उधारो सहमतिमा हस्ताक्षर गरे । सत्तापक्षबाट नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले हस्ताक्षर गरिएको दुई बुँदा प्रभावहीन देखिएको छ ।
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पु¥याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
क्ष्मजबचतजब दबलप
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।
गृह मन्त्रालय र गृहमन्त्रीको नाम कतै उल्लेख नभएको दुई बुँदामा छानबिन समिति गठन गर्नेबारे समेत एक शब्द राखिएको छैन । रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले त यतिका दिनसम्म आफूहरूको मुद्दाको नेतृत्व गरिदिएकोमा प्रचण्डलाई धन्यवाद दिएका छन् । राजनीतिक चरित्र, वर्ग, दृष्किोण फरक फरक हुने भएकाले माओवादीको चरित्रप्रति कुनै गुनासो नभएका झाले बताए ।
गृहमन्त्री रमेश लेखकको नैतिकता हिन र गैरजिम्मेवार जवाफ
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै गृहमन्त्री लेखकले खेद प्रकट गरे । मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए । उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे
‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,’ लेखकले भने, ’मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहान्छु । र म साथिहरुलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनैपनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो । त्यसको ताकत साथीहरूसँग छ ?’
सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका थिए । माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सभालाई अगाडि बढाएका छन् ।