काठमाडौँ — सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको भन्दै आपत्ति जनाएका हुन ।
सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो । ’२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,’ उनले भने । तामाङले दुवै उपप्रधानमन्त्रीलाई सोधे, ’यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले ? आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?’ दुवैजना प्रधानमन्त्रीको लाइनमा रहेका तर बजेट विनियोजनमा आफ्नो जिल्लामा मात्रै संकृर्ण बनेको उनको भनाइ थियो ।
७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन् । ’यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ । कांग्रेसहरू डुबिसक्यो,’ उनले भने ।
सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त छ ः सूर्य थापा
नेकपा एमालेका सांसद सुर्य थापाले लौहपुरुष गणेशमान सिंहका नाममा उनकै सम्मान घटाउने गरी सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सच्चाउन माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सहरी विकास मन्त्रालयको बजेट सच्चाउन माग गरेका हुन् ।
सांसद् थापाले झन्डै ७५ करोडको बजेटमा गणेशमानको सम्मानलाई साट्ने गरी विनियोजन भएको भन्दै सच्चाउन माग गरेका हुन् । उनले विभिन्न ठाउँका वडा कार्यलयहरु विपतमा परेर पहिरोमा पुरिएर क्षतिग्रस्त भएपनि ती बनाउन बजेट विनियोजन नभएको तर गणेशमान सिंहको पनि सम्मान नहुने खालका गणेशमानको नाम जोडिएका योजनाहरू बजेटमा पारेको बताए ।
‘आश्चर्य लागेको छ । राष्ट्रिय योजना आयोगले तीन करोडका योजनाको सिलिङ दिएको थियो । सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । त्यसकारण ससाना टुक्रा टुक्रे योजनाहरू फालिनुपर्छ’, थापाले भने ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरू जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेस्र्याएका हुन् ।उनले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गरे । उनले कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गरे ।
उनले नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर समेत गरे । नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? प्रश्न गर्दै उनले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गरे । उनले अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न गर्दै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गरे ।
उनले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्नेमा जोड दिए ।