कैलाली ,सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले पहिलो खोप लगाउने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे ।
‘सुई हो, छालामा घोच्दा दुख्छ नै’ उनले भने, ‘क्षणिक दुखाई महसुस भए पनि कोभिड–१९ बाट बच्न खोप अनिवार्य भएकाले नडराइकन लगाउन म सबैमा अपिल गर्दछु ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन महेश भट्टले पनि बुधबार नै कोभिड १९ विरुद्धको खोप लगाए । ‘कोभिड १९ का कारण सधैँ असुरक्षित भइरहेको महसुस हुन्थ्यो’ उनले भने, ‘आज खोप लगाउने अवसर पाउँदा सुरक्षित महसुस भएको छ ।’प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक कृष्णबहादुर विष्टले पनि खोप लगाउने अवसर पाउँदा निकै खुशी लागेको बताए । उनले अब कोभिड–१९ बाट सुरक्षित भइने विश्वास जागेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ९ ठाउँबाट एकसाथ कोभिड–१९ विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गर्ने भनिए पनि बाजुरा जिल्लामा भने खोप पुग्न ढिलाइ भएकाले बिहीबारबाट खोप अभियान मात्र सुरु हुने डा.गुणराज अवस्थीले जानकारी दिए ।उनले प्रदेशमा ३६ हजार डोज खोप उपलब्ध भएको बताए । सुदूरपश्चिमका ९ वटै जिल्लामा सरकारी स्वास्थ्यकर्मी, निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ कर्मचारी गरी १६ हजार ३ सय ३८ जनालाई खोप लगाइने उनले बताए ।