धेरै सामुदायिक विद्यालयमा शैक्षिक स्तर खस्किरहेको गुनासा आइरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । सो विद्यालयबाट ६ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जनाले ४ जीपीए ल्याएपछि अहिले सबैतिर चर्चा हुन थालेको छ । शान्तिको यो नतिजा रुपन्देहीको मात्रै होइन सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको विद्यालयको भनाइ छ ।
सो विद्यालयबाट सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३।९ देखि ३।९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
विद्यालयका प्राचार्य कुलप्रसाद न्यौपानेले नतिजा आशातित रहेको र विद्यार्थी तथा शिक्षकहरुको मेहनतको परिणाम भएको बताएका छन् । यसले आफूहरुलाई निकै खुसी बनाएको जनाए ।
‘समग्रमा देशकै राम्रो नतिजा आएको छ, यसमा हाम्रो विद्यालयमा आएको नतिजा देशमै सन्देश दिने खालको छ’ उनले भने । ’साधनस्रोतको अभावमा विद्यालय चलाउनुपरेको छ, यस्तो अवस्थामा सामुदायिक विद्यालयको नतिजा सुधारले सबैलाई खुसी बनाएको छ’ लामिछानेले भनेका छन् ।