पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’ उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्। पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’
भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।
मदनपत्नी विद्याले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु ।
विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छः ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए ।
उनले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने बताए ।वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’
विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उनको धर्म भएको नेता पोखरेलको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुन्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।