काठमाडौं,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको नेतृत्व गर्न सक्रियता,पहलकदमी लिने,प्रतिस्पर्धी र जनसेवाकाे भाव चाहिने बताएका छन् । चुनाव देखि डराउनेले पार्टीकाे नेतृत्व गर्न नसक्ने उनकाे दावी छ।
साेमबार नेपाल बौद्धिक परिषद्, बुढानीलकण्ठ नगर कमिटीले मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले माक्र्सवादलाई नेपालको विशेषतामा लागु गर्नुपर्छ भन्ने मान्यताका साथ मदन भण्डारीले जबजलाई अगाडि सारेको बताए ।
उनले भने, ‘सिद्धान्तले जीवन बदल्न सक्दैन । जीवन बदल्न त्यहाँको यथार्थतामा आधारित हुनुपर्छ भन्ने उहाँको जोड थियो ।’मदनले ‘खुट्टाअनुसारको जुत्ता’ को मान्यता राख्ने गरेको चर्चा पोखरेलले गरे । ‘जुत्ता सानो भयो भनेर खुट्टा काट्ने हैन, खुट्टा अनुसारको जुत्ता बनाउने हो, जनताको बहुदलीय जनवाद पनि नेपाली खुट्टाअनुसार अगाडि आएको विचार हो’, उनले भने ।