डोल्पा जिल्लाकाे सदरमुकाम दुनै बजारमा जुवातास खेल्ने ५ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ। मंगलबार राती गाेप्य सुचनाकाे आधारमा सदरमुकाममै रहेकाे बी एण्ड बी होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ५ जनालाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले दिएका जानकारी दिए।
डिएसपी खड्काका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जुवाखालबाट ५ जना जुवाडे सहित नगद रु १ लाख १८ हजार २ सय ७५ रुपैयाँ,२ गड्डी नखोलिएको तथा ४–५ गड्डी खुल्ला तास बरामद गरेकाे हाे।
उनले थपे “पक्राउ पर्नेमा रुकुम पुर्व पुथाउत्तरगंगा गा.पा. ८ बस्ने वर्ष ३३ को अञ्चल मल्ल,डोल्पा त्रिपुरासुन्दरी न.पा. ११ बस्ने वर्ष २० को नरकर्ण पुन,काईके गा.पा. ३ बस्नेवर्ष ३३ को राजु बुढा,ठुलिभेरी न.पा. ३ बस्ने वर्ष ३६ को सट कुमार बोहोरा र जुम्ला पातारासी गा.पा. ४ बस्ने वर्ष ३२ को प्रदिप बोहोरा रहेका छन्।”
प्रारम्भिक अनुसन्धानमा उनीहरूले नगद रकम मात्र नभई बैंकमार्फत कारोबार समेत गरेको प्रमाण फेला परेकोले थप अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गरी हिरासत कक्षमा राखिएको प्रहरीले जनाएकाे छ। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम जुवा तथा सट्टाबाजीसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अगाढी बढाइएकाे छ।
पछिल्लाे समय सदरमुकाम दुनै बजारमा जुवा तथा तास खेल्ने क्रियाकलाप बढी रहेकाे थियाे। प्रहरीले अहिले भने जुवातास खेल्ने विरूद्द कडा रूपमा प्रस्तुत भएकाे छ। यसलाइ निरन्तरता दिन पनि जरूरी देखिन्छ।