संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य छन् ।
नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने टुंगो लागेको हो । आज सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आआफ्नो पार्टीबाट सदस्यहरुको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको छ ।
सभामुख घिमिरेले आजको प्रतिनिधि सभा आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’मा रहने सदस्यहरुको नाम औपचारिक रुपमा जानकारी दिनेछन् ।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो । राज्यव्यवस्था समितिका सदस्य र राजनीतिक दलका अन्य नेताहरुले समेत विधेयक हेरफेर गर्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
सोही अनुसार गठन गरिएको छानबिन विशेष समितिलाई विधेयकमा हेरफेर गर्नेलाई कारबाही सिफारिस गर्ने र यस्ता घटना भविष्यमा दोहोरिन नदिने उपायबारे समेत सुझाव दिने कार्यादेश तोकिने स्रोतले बताएको छ ।
कुलिङ पिरियडको गडबडी : छानबिन समितिमा कांग्रेसको नेतृत्वमाथि रास्वपाको प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएको छ । विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठग्ने काम भएको रास्वपाको भनाइ छ ।
रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलंकित कथा बुनिएको टिप्पणी गरे ।‘संसदीय छानबिन समिति बन्दैछ भन्ने कुरा थाहा पायौं त्यसमा हाम्रो सहमति पनि रहनेछ । तर जुन व्यक्तिमा औँला उठ्दैछ त्यो व्यक्तिको नाम जोडेर नै समिति बन्नुपर्छ भनेर तपाईंहरूले विभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । त्यो बिर्सिनुभएछ,’ सांसद झाले बताए ।
कुलिङ पिरियडमा नेपाली कांग्रेसको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।उनले भिजिटि भिसा प्रकरणमा समेत आफूहरुको आन्दोलन जारी रहेको पनि बताए ।‘भिजिट भिसामार्फत भइराखेको संगठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ । त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कंलङ्कित कथा बुनियो,’ सांसद झाले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् । सरकारले दुवै प्रकरणमा छानबिन गर्न समिति बनाइसकेको छ । यद्यपि रास्वपाले दुवै समितिमाथि प्रश्न उठाएको छ ।