घोराही – नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, जिल्ला कार्य समिति दाङले विद्यालय ड्रेसको खरिद बिक्रीमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अनियमितता र व्यावसायिक नोक्सानीको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष पदम नेपाली र सचिव फत्ते बहादुर परियारको नेतृत्वमा प्रशासनमा बुझाइएको उक्त ज्ञापनपत्रमा कक्षा ११ को भर्ना सँगै ड्रेसको माग बढ्ने बेला केही विद्यालयले विद्यार्थी तथा अभिभावकमाथि एकलव्य व्यापारिक केन्द्रमा ड्रेस खरिद गर्न दबाब दिने गरेको उल्लेख छ । यस्तो कार्यले व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा सिर्जना गराउनुका साथै आम उपभोक्तालाई आर्थिक भार पर्ने संघको भनाइ छ ।
ज्ञापनपत्रमा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा ४.७.१३ लाई पूर्णरूपमा पालना नगरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । सो निर्देशिकामा विद्यालयले ड्रेसको नमुना उपलब्ध गराउनु पर्ने र तोकिएको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य पार्न नहुने स्पष्ट व्यवस्था छ । तर, यथार्थमा विद्यालयहरूको प्रभावमा सीमित व्यवसायीक स्थान तोकिने गरेको र यसले धेरै व्यवसायीहरूलाई नोक्सानी पु–याएको संघको आरोप छ ।
त्यस्तै, संघले बजारमा दर्ताबिना सञ्चालन भइरहेका व्यवसाय र घुमन्ते व्यापारीहरूले वैध व्यवसायीहरूलाई क्षति पु¥याएको भन्दै यसतर्फ राज्य गम्भीर हुनुपर्ने मागसमेत राखेको छ । संघको तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा “देशको आर्थिक क्षेत्रमा कालान्तरमा नोक्सानी नहोस् भनेर बेलैमा राज्य र सरोकारवाला निकायले ध्यान दिन जरुरी छ” भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले व्यवसायी र उपभोक्ताको जनजीवनसँग प्रत्यक्ष जोडिएको विषयमा प्रशासनको विशेष ध्यानाकर्षण भएको बताउनुभयो ।।