बाढीपहिरोका कारण दाउन्नेमा सडक भासियो,नारायणगढ–बुटवल सडक खण्ड लगाएत देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ अवरुद्ध भएका छन् । यसैगरी म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।
यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
दाउन्नेमा सडक भासियो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
लगातारको बर्खाले दाउन्नेमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।
भारी वर्षापछि खुर्सानी खोला नजिक सडक भासिएसंगै सोही ठाउँमा लु १ क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोला नजिकै करिब ४ फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डीएसपी बीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरुलाई बर्दघाटको टिसिएन चोकमा र पश्चिमतर्फ जाने सवारी साधनहरु दुम्किबासमा रोकिएका छन् । सडक खुलाउने प्रयास जारी छ । दिउँसो सम्ममा दुई तर्फी खुलाउने गरी प्रयास भएको सडक आयोजनाले सूचना प्रकाशन गरेर जनाएको छ ।
बुटवल नारायणगढ सडक खण्डको अधिकांश स्थानमा एकतर्फी सडक कालोपत्र भई यात्रा सहज भए पनि दाउन्नेको १४ किलोमिटर सडक खण्डको पूर्वीखण्ड अझै सकसपूर्ण रहेको छ । खुर्सानी खोलामा पटक पटक सडक भासिदा यो सडक अवरुद्ध हुँदै आएको छ । दाउन्नेमा अझै पनि पानी पर्नासाथ बाटो हिलो र चिप्लो भएर उकालोमा सवारी साधन उक्लनै कठिन हुने गर्दछ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहे पनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दाउन्नेमा सडक खण्ड दुईतर्फी नै बन्द हुन पुगेको जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
यसैगरी लगातारको बर्षा पछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १० लण्डन बृजदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको छ । यहाँ करिब २०० सय घर डुबानमा परेको छ । यहाँ पानीको उचित निकास नहुँदा बर्खामा पानी जामेर गाउँ नै डुबानमा पर्ने गर्दछ ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -