हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ
भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।
त्यसैगरि धौलीगङ्गा पावर स्टेसन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेसनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ ।