काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार महानगरको नगरसभाको १७औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४१ लाख ४१ हजार जम्मा हुने अनुमान छ। जसमा महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रदेश सरकारबाट ससर्त, समानीकरण राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकासमा कुल बजेटको तीन प्रतिशत (७५ करोड ३४ लाख ३० हजार), सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब दुई करोड २८ लाख ६८ हजार), पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार) विनियोजन गरिएको छ।
यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्ब ५१ करोड ६० लाख ८ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षमा महानगरपालिकाभित्र पूर्वाधार विकासलाई प्राथमिकता राखिएको उपप्रमुख डंगोलले बताइन्। त्यस्तै, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य, एक वडा एक उद्यमशीललगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
यसैविच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताएका छन् ।आइतबार बसेको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।
‘नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशिलता आवश्यक हुन्छ,’ मेयर शाहले भनेका छन् ।उनले यसअघि प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन पनि गरे ।
‘महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ मेयर शाहले भनेका छन् ।गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
आज सोही बराबरको बजेट आज प्रस्तुत हुनेछ ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।