कर्मचारी सरुवामा घुस लिएको आरोपमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बाध्य भएर सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा गराए। केही दिनदेखि ७८ लाख घुस मागेको र स्वीकार गरेका मन्त्री गुप्तालाई क्याबिनेटमा राखेर सोमबार बैठक चलाएका ओलीले मंगलबार बिहान राजीनामा दिन निर्देशन दिए।
सामान्य प्रशासन मन्त्री खाली भएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानलेलाई जिम्मेवारी दिएका छन्। ओली दाहिना हुँदा न्यौपानले तेस्रोपटक अप्रत्यासित रुपमा पद हात पारेकी छन्।
२०७४ सालको स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपानेलाई ओलीले दुई वर्षपछि आलोचना झेलेर गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनाए। मेयरमा कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्।
ओलीकाे आशिर्वादले स्थानीय चुनावमा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रियसभा सांसद बनेकि थिइन्। परिपक्कहरु आउने सभामा ओलीको भित्रिया भएकैले उनले अवसर पाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएको थियो।
एमालेले सांसदका लागि दुई पटक समानुपातिकको नाम राख्दासमेत निर्वाचित हुने अवसर गुमाएकी न्यौपानेलाई ओलीले नगर प्रमुख बनाउन चाहेका थिए। तर, त्यहाँ जनताबाट अनुमोदित हुन नसकेपछि स्थानीय तह र प्रदेशसभामा निर्वाचित नेता कार्यकर्ताको मतबाट उनी राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकी थिइन्।