७८ लाख ‘घुस’ डिलमा तानिएपछि संघीय मामिलामन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । अडियोअनुसार उनले पोखरा लिचीघारीको १३५ रोपनी विवादित जग्गा स्वार्थ समूहको नाममा दर्ता गरिदिने भन्दै घुस लिएका हुन् ।
यही जग्गा काण्डमा ५३ लाख रुपैयाँ घुस खाएको आरोप लागेपछि संघीय मामिलामन्त्री गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिइसकेका छन् । उनले जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको पनि सार्वजनिक भएको थियो । जसमा उनले ‘घुस खाएको’ भन्दै भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका थिए । ‘बलराम (अधिकारी)ले पैसा खाइसक्यो, उसले काम गर्दैन,’ उक्त अडियोमा गुप्ताले बिचौलियासँग भनेका छन् ।
पछिल्लो सार्वजनिक अडियोमा अधिकारीले पैसा (घुस) खाइसकेको दाबी बिचौलियाले गरेका छन् । अडियोमा तत्कालीन भूमिसचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज र निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् ।
महेन्द्र गुफा नजिकै रहेको जग्गा हत्याउन व्यापारिक समूह लागिरहेको थियो, यही विवादमा केही वर्षयता बिचौलिया छिरेका थिए । हाल भोगचलन गर्दै आएकाहरूको जग्गा स्वार्थ समूहको डिजाइनबमोजिम अर्कैलाई दर्ता गरिदिने नाममा मन्त्री अधिकारीले घुस खाएको आरोप लागेको हो । स्वार्थ समूहका व्यक्तिहरूले पनि भूमि व्यवस्थामन्त्री अधिकारीले जग्गा दर्ता गरिदिने भन्दै रकम बुझेको दाबी गरेका छन् । सार्वजनिक अडियोमा पनि पैसा जेब्रा झोलामा हालेरध मन्त्री अधिकारीलाई बुझाएको सुनिन्छ ।
सार्वजनिक भएको अडियोमा मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी बिचौलियाले गरेका छन् । अडियोमा बलराम (मन्त्री अधिकारी)ले ३२ र भूमिसचिव (तत्कालीन सचिव अर्जुन पोखरेल) ले पाँच लाख रुपैयाँ बुझेको दाबी गरिएको छ । ‘यताउता गरेर डेढ (डेढ करोड) जति गइसकेको’ दाबी अडियो संवादमा गरिएको छ । सचिव पोखरेलले नयाँ पुलस्थित होटेलबाट दुइटा वनकुखुरा, १० हजारका विभिन्न सामान, भिआइपी रक्सी र लगभग पाँच लाख रुपैयाँ लगेको अडियोमा भनिएको छ ।
आफू मन्त्री भएपछि अधिकारीले न्युजिल्यान्डमा बस्ने छोरा मनोजलाई पैसा उठाउन नेपाल बोलाएको दाबी पनि अडियोमा गरिएको छ । ‘बुवा मन्त्री भएपछि नेपाल बस्न थाल्यो, यसैयसै (पैसा) उठाउन लाग्यो,’ मनोजबारे अडियोमा भनिएको छ । छोरा मनोजले पैसा उठाउने गरेको अडियोमा सुनिन्छ । मन्त्री अधिकारीबाट पटक–पटक पैसाको माग हुने गरेको दाबी पनि अडियोमा गरिएको छ । मन्त्रीका निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् ।