नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालले आजदेखि ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको छ । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् । असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन÷भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएर अभियान सुरु गरिएको अध्यक्ष पुष्प ओलीले बताए ।
कार्यक्रममा प्रचण्डले इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम आबद्ध भएर सहकार्य गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिए ।‘देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाईसीएललाई धन्यवाद दिन चाहन्छु ।
युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गर्दछु’, उनले भने । प्रचण्ड’ पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई तयारी रहेर बस्न निर्देशन दिएका छन्। जुनसुकै बेला सरकारको प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै कार्यकर्तालाई तयार रहन निर्देशन दिएका हुन्।
’सावधानी गर्दा गर्दै सरकार यसरी भ्रष्टाचारमा लिप्त हुने, यसरी नै जनभावना विपरीत गयो भने हामीले छिट्टै सडकबाट नै यो सरकारको प्रतिवाद गर्ने दिन आउँछ,’ वाइसिएल कार्यकर्तालाई भने, ’त्यसका लागि सबै आफूलाई तयार पार्न अपिल गर्छु।’