सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बुधबार जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको ढिलाइ र अनियमितताका विषयमा भएको छलफल पछि यस्तो निर्देशन दिएको हो।
समितिमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियाका विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेको बताए । उनले सर्वोच्च अदालतमा मुद्दा रहेता पनि प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
उनले भने, ‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा । प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छौँ।’
जग्दुल्ला आयोजना बन्नै नदिने खेल भइरहेको छः पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भइरहेको ढिलाइ र विवादप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्।
उनले जग्दुल्ला जलविद्युत् आयोजनालाई तत्काल टुङ्ग्याएर काम अघि बढाउन आवश्यक रहेको बताए । उनले कर्णाली प्रदेशको भविष्यसँग जोडिएको महत्त्वपूर्ण आयोजनालाई विभिन्न बहानामा रोक्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे।
शर्माले आयोजनामा नक्कली कागजातको विषयलाई लिएर छानबिन हुनुपर्नेमा आफू सहमत भए पनि छानबिनको नाममा आयोजनालाई नै बन्धक बनाउने र कर्णालीका जनतालाई विकासबाट वञ्चित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
‘यो प्रोजेक्ट ढिला गरेर अर्को ठुलो भ्रष्टाचार पनि हो, त्यहाँका जनतालाई ठग्ने कुरा पनि हो,’ उनले भने, ‘नक्कलीलाई दिनुपर्छ भन्ने मेरो मान्यता छैन, तर तत्काल निर्णय गरेर यो कार्यान्वयन हुनुपर्छ। फेरि तेस्रो टेन्डर निकालेर अल्झाउने सोच छ भने त्यो मान्य हुने छैन।’