spot_img

एमालेमा विद्यालाइ प्रतिबन्धपछि फुटकाे संकेतःयस्ता छन् विद्यासँग नयाँ विकल्पहरू ?

spot_img

सक्रिय राजनीतिमा रोक्ने एमाले केन्द्रीय कमिटीबाट ‘अनपेक्षित र अपमानपूर्ण’ निर्णय आएपछि निराश बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी राजनीतिक भूमिका र सम्भावित विकल्पबारे परामर्शमा जुटेकी छिन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सक्रिय राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय भएपछि असन्तुष्ट र निराश बनेकी विद्याले निकटस्थहरूसँग बुधबार दिनभर आगामी कदमबारे प्रारम्भिक विमर्श गरेकी छिन् । नेता तथा विश्लेषकका अनुसार विद्यामाझ आगामी कदमबारे सीमित र केही जोखिमपूर्ण विकल्प छन् ।

लामो समयदेखिको संवाद, सम्पर्क र छलफलमा सकारात्मक देखिएका ओलीले पछिल्ला दिनमा आफू पक्षधर नेताहरूमाथि कारबाहीसम्मको धम्की दिएर दबाब सिर्जना गर्दै केन्द्रीय कमिटीबाट पार्टीमा फर्किने ढोका बन्द गराएको भण्डारीको निष्कर्ष छ । हालको निर्णयले आफ्नो विश्वास र भरोसा चकनाचुर बनाएको विद्याको बुझाइ छ । उनले प्रतिबन्धलाई अनपेक्षित घटनाका रूपमा लिएको निकट नेता बताउँछन् ।

‘निकटस्थहरूसँगको छलफलमा उहाँले पार्टी सदस्यता नवीकरण नै रोक्ने निषेधको तहमा निर्णय नहुने विश्वास राख्नुभएको थियो । अहिले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई उहाँले अनपेक्षित घटनाका रूपमा लिनुभएको छ । समग्र छलफलपछि भावी कदमबारे खुल्ने उहाँको योजना छ,’ बुधबार विद्यासँग संवाद गरेका एमालेका एक नेताले नयाँ पत्रिकासँग भने । बुधबार नै विद्याको सदस्यता पार्टी प्रणालीबाट हटाइएको छ ।

मंगलबार मध्यरातमा एमाले केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि विद्या बुधबार बिहानैदेखि सक्रिय भएकी थिइन् । सोही क्रममा उनले बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही पदाधिकारीसँग टेलिफोन संवाद गरेकी छिन् भने केही निकटस्थ नेताहरूलाई भंगालस्थित निवासमा भेटेकी थिइन् ।

प्रदेश र जिल्ला तहका नेताहरूसँग टेलिफोन र अनलाइनबाट संवाद गर्दै भावी कदमबारे प्रारम्भिक सुझाव लिएको निकट स्रोत बताउँछ । तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा उनले निकटस्थहरूसँग संगठित र सामूहिक छलफल भने गरिसकेकी छैनन् ।

बुधबार भेट गरेका निकट नेता विनोद ढकालले तीन दिनभित्र पूर्वराष्ट्रपति विद्याले आगामी कदमबारे औपचारिक फोरममार्फत धारणा सार्वजनिक गर्ने बताए । ‘उहाँले केही तयारी गर्दै हुनुहुन्छ । पार्टीले गरेको पछिल्लो निर्णय र आगामी कदमबारे उहाँले कुनै औपचारिक फोरमबाटै तीन दिनभित्र धारणा सार्वजनिक गर्नुहुनेछ,’ ढकालले भने । बिहीबार र शुक्रबार पूर्वराष्ट्रपति विद्या दुईवटा औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छिन् ।

यस्ता छन् विकल्प

केन्द्रीय कमिटीको निर्णयमाथि पुनर्विचारका लागि विधान महाधिवेशनमा आफूपक्षीय नेताहरूमार्फत फरक प्रस्ताव लैजाने र त्यसलाई पारित गर्ने वातावरण बनाउन भूमिका खेल्ने
केन्द्रीय कमिटीको निर्णय ‘असंवैधानिक र गैरकानुनी’ रहेको दाबीसहित अदालतबाट कानुनी उपचार खोज्ने
आफू बाहिरै बसेर आगामी महाधिवेशनमा ओलीलाई काउन्टर दिने गरी अर्को नेताको नेतृत्वमा टिम नै खडा गर्ने, त्यसका लागि अहिल्यैदेखि अभियान चलाएर पार्टीभित्र प्रभाव जमाउने
अहिले बाहिरै रहे पनि आगामी महाधिवेशनबाट आफ्नो टिम जिताउने, अहिलेको निर्णय सच्याएर अर्कोपटक नेतृत्वको तयारी गर्ने
आफूनिकट नेताहरूलाई लिएर छुट्टै पार्टी बनाउने र सक्रिय राजनीतिमा होमिने

किन मौन बसे ईश्वर पोखरेल ?
पार्टीको आगामी नेतृत्वमा विद्याको आगमन र ओलीको बिदाइको पक्षमा मुखर रूपमा प्रस्तुत हुँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे मौन बसेका छन् । विद्यालाई पार्टी राजनीतिमा नफर्काउने केन्द्रीय कमिटीको निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति राख्दा उनी भने मौन बसे ।

तर, विद्यानिकट एक नेताले भने पोखरेल पुरानै अडानमा कायम रहेको बताए । ‘उहाँ पुरानै अडानमा हुनुहुन्छ । मंगलबार मध्यरातमा हुलमुलमा निर्णय हुँदाहुँदै अचानक बैठक समापन भनिएकाले मात्र उहाँले बोल्न खोज्दाखोज्दै पनि बोल्न पाउने अवस्था नबनेको हो,’ ती नेताले भने, ‘यो कुरा उहाँले पूर्वराष्ट्रपतिलाई टेलिफोन गरेर जानकारी गराउनुभएको छ ।’

केन्द्रीय कमिटीबाट कार्यकारी पदमा ७० वर्ष उमेरहद र कार्यकालको अवधि गणना नहुने विधान मस्यौदा पारित भएपछि ७२ वर्षीय पोखरेलले चाहेको अवस्थामा नेतृत्वका लागि ओलीसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ । अहिलेका लागि विद्याको ढोका बन्द भएकाले पोखरेल उनको टिमबाट अध्यक्षको विकल्प हुन सक्नेछन् । तर, उनले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img