spot_img

फेरी विभाजनकाे संघारमा माओवादीःजनार्दनले मनमोहन बाहेकका कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भनेपछि माओवादीमा विवाद सतहमा,प्रचण्डकाे चेतावनी पार्टीभित्र सिँगौरी खेल्न दिएको छु,कमजाेर नठान

spot_img

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् । भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केहि केहि साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे ।

शर्माले मङ्गलवार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । यस्तै उनले पार्टी नेतृत्वमा ३६ वर्ष के गरिस् भनेर प्रश्न उठाएकोमा पनि असन्तुष्ट पोखेका छन् । ३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको उनले आरोप लगाए ।

‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ’, प्रचण्डले भने– ‘३६ वर्ष के ग¥यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध ग¥यो । २०५२ सालमा विद्रोह ग¥यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर ग¥यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।’,

मनमोहनबाहेकका कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भनेपछि माओवादी हेडक्वार्टरबाट जनार्दनमाथि जाइलागे प्रचण्ड खेमाका नेता

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने रणनीतिका साथ अघि बढेका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट सबै प्रधानमन्त्री भ्रष्ट भन्ने अभिव्यक्ति दिएपछि माओवादी वृत्तमा तरंग ल्याएको छ । शर्माको यो अभिव्यक्तिपछि प्रचण्डसँग नजिक रहेका नेताहरूले सामाजिक सञ्जालबाट प्रतिवाद गरिरहेका छन् । प्रचण्ड स्वयंले जनार्दनलाई आफ्नो उदारतामाथि खेलेर बढी नबोल्न चेतावनी दिइसकेका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै जनार्दनले मनमोहन अधिकारीबाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री बिचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको दाबी गरिदिए ।पूर्वअर्थमन्त्री शर्माको नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्तअनुसार काम गर्न नसकेको दाबी थियो । ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ। तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन’ उपमहासचिव शर्माको भनाइ थियो, ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ। यो आरोप होइन, यथार्थ हो।’ मनमोहनपछि कम्युनिस्ट प्रधानमन्त्री बन्नेमा पार्टी अध्यक्ष प्रचण्डसहित केपी ओली, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई छन्।

पछिल्लो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरोधी अभियान चलाएको दाबी गर्दै हिँडेका प्रचण्डलाई समेत उनले त्यही घानामा हालिदिए। शर्मा यतिमा मात्रै रोकिँदैनन् । पार्टीभित्र पनि आफू नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउँदै गरेको भन्दै पुनर्गठनको विकल्प नभएको बताए। उनले पार्टीमा जनवाद नभएको भन्दै चाकडी र निरङ्कुशता हाबी भएको उनको तर्क छ। त्यतिमात्र होइन उनले माओवादीका नेताहरुको सम्पत्ति छानवीन हुनुपर्ने माग समेत गरेका छन् ।

त्यसो त यसअघि नै प्रचण्डलाई शर्माले पार्टी नेतृत्व छाड्न भन्दै बैठकमा लिखित प्रस्ताव नै अघि सारेका थिए। तर विशेष महाधिवेशनमा पु¥याएर शर्माको माग सम्बोधन गर्ने भन्दै शर्मालाई प्रचण्डले तत्काललाई साम्य पारेका थिए।

अहिले प्रचण्डले भनेको विशेष महाधिवेशन अनिश्चित बन्दै गर्दा शर्माले एकपछि अर्को गर्दै फायर खोलिरहेका छन्। पार्टीभित्र अखिल क्रान्तिकारीको नेतृत्वको लागि भएको निर्वाचनमा आफू निकट मानिएकाहरू पदाधिकारीमा बहुमत आएपछि थप शक्ति आर्जन गरेका छन्। उनको पार्टीको तल्लो तहसम्म गुट फैलिएको छ। शर्माको पछिल्ला गतिविधि र अभिव्यक्तिबाट प्रचण्ड पनि बिच्किएको अध्यक्ष प्रचण्डको साउन ७ गतेको अभिव्यक्तिबाट प्रस्ट सुनिन्छ।

केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले आफ्नै नेतृत्वको भण्डाफोर गरेर पार्टी र आन्दोलनलाई बलियो बनाउन नसकिने बताएका छन्। उनले भनेका छन्, ‘नेतृत्व त्यो हो, जसले विचार र सिद्धान्तको आधारमा आगामी कार्यक्रम तय गर्दै आफ्ना पङ्क्ति र समाजलाई प्रशिक्षित गर्दै अगुवाइ गर्दछ। आफ्नै नेतृत्वको भण्डाफोर गरेर न समाजलाई आशा दिलाउन सकिन्छ, न त पार्टी र आन्दोलनलाई बलियो बनाउन सकिन्छ। आज आन्दोलन र नेतृत्वलाई सराप्ने प्रियतावादीहरू बजारमा ध्यासछ्यास्ती रहेको भन्दै अहिलेको चुनौती सामना गर्न घनिभूत आन्तरिक छलफल, सुदृढ पार्टी संरचना र बलियो नेतृत्व आवश्यक रहेको बताएका छन्। उनी मात्रै होइन, लामो समय प्रचण्ड सचिवालयमा बसेर काम गरेको केन्द्रीय सदस्य रमेश मल्लले पनि शर्मालाई लक्षित गर्दै भनेका छन्, ‘आज यो उखान बढी सान्दर्भिक देखियो, जो चोर उसकै ठुलो स्वर।’

यस्तै, अर्का नेता लेखनाथ न्यौपानेले राजनीतिमा लागेर ज–जसले अकुत सम्पत्ति थुपारे उनीहरूले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरू के होला भन्दै कटाक्ष गरेका छन्। बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको औँल्याएका छन्। उनले भनेका छन्, ‘माओवादी आन्दोलनमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण एवं कार्यान्वयन, पार्टी एकता एवं विभाजन र जनयुद्धदेखि नेतृत्व पंक्तिमा कमरेड प्रचण्डसहित उहाँ तीस बर्ष एउटै समितिमा निर्णय तहमा बसेका सबै नेताहरू (अहिले माओवादी केन्द्रमा हुन वा बाहिर) सबैको व्यापक समीक्षा सहितको वैचारिक संश्लेषण पहिलो आवश्यकता छ।’

वैचारिक धरातलमा पार्टीको सङ्गठनात्मक संरचना, जनवादी केन्द्रीयतामा विकाश र समग्र संस्कृतिमा रूपान्तरण सहितको कार्यशैलीयुक्त नेता कार्यकर्ता पंक्तिको विकाशको प्रश्नलाई सैद्धान्तिक समाधान दिनुपर्ने उनको मत छ।

पौडेलको प्रश्न छ, ‘यसले कसको सम्पत्ति छानबिन गर्ने ? को पानीमाथि छ ? सरकारमा बस्दा कुन प्रधानमन्त्री वा मन्त्रीले कस्तो काम ग¥यो ? भ्रष्टाचार ग¥यो कि जनमुखी कार्य ग¥यो ? एक्लै हिरो बन्यो कि पार्टी को लाइनमा बसेर काम ग¥यो ? सङ्घर्षको प्रधान अन्तर्विरोध के हो ? बर्गसंघर्ष र अन्तरसंघर्ष भनेको के हो ? कस्तो हुनुपर्छ ? लगायतका सबै प्रश्नहरूको उत्तर प्राप्त हुन्छ ।’

अर्का नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिलाले पनि नेतृत्व भनेको क्रान्तिकारी विचार र सिद्धान्तमा आधारित रहेर आन्दोलनलाई अगाडि बढाउने क्षमता भएको तर्क गरेका छन्।उनले भनेका छन्, ‘आफ्नै नेतृत्वको बदनाम गरेर न पार्टी बन्छ न त आन्दोलन नै । यसबाट फाइदा त अन्ततः प्रतिक्रियावादीहरुले लिने हो। आजको आवश्यकता आत्मसमीक्षा, जनसम्बन्ध, आन्तरिक छलफल, सुदृढ सङ्गठन र नेतृत्वको दृढ रक्षा गर्ने हो।’

‘प्रचण्डलाई भ्रष्ट भन्न मिल्दैन’

भ्रष्टाचार विरोधी अभियान चलाएर सरकार छाड्नुपरेको प्रचण्डलाई कसैले पनि भ्रष्ट भन्न नमिल्ने उपमहासचिव हरिबोल गजुरेल बताउँछन् । उनले भने, ‘प्रचण्डलाई भ्रष्टहरूले सरकारबाट हटाए, उहाँलाई भ्रष्ट कसरी भन्न मिल्छ। प्रचण्ड अरू भन्दा फरक देखिनुभएको छ ।’ उनले पार्टी नेतृत्वमा अहिले प्रचण्डको विकल्प नभएको पनि सुनाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img