सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले १५ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सोमबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले विश्वासको मत लिने निर्णय गरेको हो ।
संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले दलको निर्णयपछि सो दिन प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी गराए।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि १५ साउन अपराह्न ५ बजे प्रदेश सभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका धामीले बताए । आफ्नो पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो ।