बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।
आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरेका हुन् ।
‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।
‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ,’ लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उनले जानकारी दिए
मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मतमात्रै परेको थियो भने विपक्षमा २२ मत परेको थियो ।
‘मुख्यमन्त्री त फेर्नै सक्दैन । दलको नेता भएर हो । कोलेसन गभरमेन्ट हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने ।
उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए ।
‘संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ । कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ,’ लामाको तर्क छ ।