राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक बोलाएको छ । बुधबार भैरहवामा बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको बैठक फरक फरक प्रदेशमा बस्ने नीति अनुसार नै दलको बैठक बोलाइएको कार्यवाहक सभापति डिपी अर्यालले जानकारी गरे ।
बैठकमा भाग लिन सांसदहरू भैरहवा आउने क्रम जारी रहेको उनले बताए । बैठकको समय सबै सांसदहरू आएपछि तय गरिने उनले बताए ।
‘हामीले दलको बैठक अप्रत्याशित रूपमा बोलाएको होइन । पहिले नै तय भएको हो । पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको अलग अलग बैठक हरेक महिना अलग अलग प्रदेशमा बस्ने नीति अनुसार नै बैठक बस्न लागेको हो’, उनले भने ।
अर्यालले आगामी निर्वाचनको तयारी सम्बन्धमा पनि ग्राउन्ड जिरो रिपोर्टीङ हुने जानकारी दिए । यस्तै सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग बिहान भेटेर कुराकानी भएको उनले बताए।