spot_img

९ वर्षसम्म सडक नबन्दा स्थानीयलाई सास्ती, पटक-पटक गुनासो गर्दा पनि भएन काम

spot_img

बुटवल बेलबासदेखि रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तार काम सुरु भएको ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।

२०७३ सालमा ठेक्का सम्झौता भएको यो सडक समयमा नबन्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । तीन वटा प्याकेजमा ठेक्का लागेको यसको दक्षिणतर्फका भने दुई वटा प्याकेजको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

बुटवलतर्फको एउटा प्याकेजको काम निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले सास्ती भोगिरहेका छन् । लामो समयसम्म सडकमै निर्माण सामग्री राख्ने र टिपर गुडाउने गर्दा धुलोधुवाँ अनि पानी पर्दा हिलोले हैरान भएपछि जिल्ला प्रशासनदेखि मुख्यमन्त्री कार्यालयसम्म स्थानीयले ज्ञापन पत्र बुझाएका थिए । तर यसप्रति कुनै सुनुवाइ नभएको स्थानीय अभियन्ता गणेश न्यौपानेले बताए । ‘हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कसैले सुनुवाइ गरेनन्, दुःख पायौँ,’ उनले भने ।

पहिलो प्याकेजको साढे आठ किलोमिटर सडकमध्ये दुई किलोमिटरमा एक वर्षदेखि काम हुन नसक्दा सडक अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका–११ का वडासदस्य नहकुल शाही चार लेन सडकको ठेक्का सम्झौता र शिलान्यास हुँदा उत्साहित भए पनि अहिलेसम्म आफ्नो घर अगाडि सडक अलपत्र परेपछि आक्रोशित छन् । उनले ठेकेदार तथा सरकारलाई सडक निर्माणको काम छिटो सक्न पटक–पटक दबाब दिएको सुनाए ।

यो सडक हेर्ने निकायहरू धेरै पटक फेरिएका छन् । सुरुमा यसलाई संघीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बुटवलले हेरेको थियो । मुलुक संघीय संरचनामा गएपछि यो आयोजना प्रदेशमा हस्तान्तरण भएको छ ।

प्रदेशमातहत आएपछि कपिलवस्तु डिभिजन कार्यालयले यो सडक हेरेको थियो । पछि कपिलवस्तु डिभिजन संघ सरकारमातहत गएपछि उसले कपिलवस्तु सडक पूर्वाधार कार्यालय जिम्मा लिएको थियो । र हाल सडक पूर्वाधार कार्यालय रुपन्देहीमातहत छ ।

प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार कार्यालयले योजना कार्यान्वयन गरेपछि यसको बजेट भने संघीय सरकारको सशर्त अनुदानअन्तर्गत विनियोजन भएको हो । पछिल्लो समय यो आयोजनामा संघ सरकारले बजेट विनियोजन नगरेकाले काम बढ्न नसकेको सडक पूर्वाधार कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण पण्डितले बताए । हेर्ने निकाय पटक–पटक फेरिँदा समस्या आएको उनको भनाइ छ । ‘अन्यथा यति लामो समयसम्म २१ किलोमिटर सडक अलपत्र बन्नुपर्ने होइन,’ उनले भने ।

६० करोड ९१ लाख ९० हजार रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको बज्र गुरु कान्छाराम जेभीले यो सडकको हालसम्म ६५ प्रतिशत मात्र काम सकेको छ ।

साढे आठ किलोमिटरमध्ये दुई किलोमिटर बाटो कालोपत्र तथा फुटपाथको काम लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक पूर्वाधार रुपन्देहीका प्रमुख लालु गिरीले बताए ।

पटक–पटक पत्राचार गरेर सडक निर्माणको काम सम्पन्न गर्न आग्रह गरे पनि अहिलेसम्म पूरा हुन नसकेकाले ठेक्का तोडेर नयाँ ढंगबाट जाने तयारी भइरहेको पनि उनले जानकारी दिए।

सडकअन्तर्गत अब साढे दुई किलोमिटर कालोपत्र गर्न बाँकी छ । त्यसबाहेक केही ठाउँमा साइकल लेन र पैदल मार्ग बनाउन बाँकी छ । सडक विस्तारको काम सम्पन्न गर्न १७ करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयका सूचना पण्डितले जानकारी गराए । यता निर्माण कम्पनीले भने आफूले दुई करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको जानकारी दिएको छ ।

सडकको बिचमा नहर र दुवैतर्फ सात–सात मिटरको डबल लेन बन्नेछ । सडकका दुवै किनारमा दुई मिटरको साइकल लेन र त्यसपछि १.५ मिटरको फुटपाथ हुनेछ । दक्षिणतर्फको एउटा साढे आठ किलोमिटर र अर्को चार किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको थियो । र उसले ठेक्का सम्पन्न गरिसकेको छ । बज्रगुरुले पाएको साढे आठ किलोमिटरको काम भने पाँच पटकसम्म म्याद थपिँदा पनि पूरा हुन सकेको छैन ।

बुटवल उपमहानगरपालिकाको बेलबासबाट सुरु भएको यो चार लेन मोतीपुर, शुद्धोधन गाउँपालिकाको बेतानी, सियारी गाउँपालिकाको अमुवा हुँदै मायादेवी गाउँपालिकाको बेथरीसम्म पुग्छ । बेथरी बजार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्छ । बुटवलबाट लुम्बिनी जान सहज हुने गरी पर्यटकीय मार्गको परिकल्पनाअनुसार यो सडक निर्माण अघि बढाइएको सडक पूर्वाधार कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जनाए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img