नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । उच्च स्थानमा रहेको आकर्षक ताल मध्येको एक हो, मनाङ जिल्लामा पर्ने तिलिचो ताल । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका लागि पर्यटकको मन लोभ्याउने धेरै स्थानहरू मध्येमा पर्ने तिलिचो पुग्नका लागि मुस्ताङ तर्फबाट नजिकै पर्छ । तर कठिन र जोखिम तवरले पुग्नु र फर्कनुपर्छ । हिमाली जिल्ला म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङबाट सहजै पुग्न सकिने तिलिचो तालमा अहिले अवलोकनका लागि निकै उत्कृष्ट मौसम रहेको मान्न सकिन्छ । प्रकृतिको सुन्दर उपहार तिलिचो ताल पुग्ने जो कोही पनि त्यतै हराउन खोज्छन् ।
प्रकृतिको सुन्दर दृश्य आफ्नै नाङ्गो आँखाले देख्दा मन्त्रमुग्ध नहुने को नै होला र ?
नेपालको अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । निलो अनि अटल देखिने ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि जस्ता हिमशृङ्खलाले ताललाई अझै धेरै मनमोहक र आकर्षक बनाएको छ। तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्दछ भने मुस्ताङको जोमसोम बाट झण्डै ६० किलोमिटरको दूरीमा पर्दछ । काठमाडौँबाट पोखरा हवाई मार्ग र पोखरा जोमसोम हवाई मार्ग प्रयोग गरेर जोमसोम पुग्न सकिन्छ । त्यस्तै, काठमाडौँबाट सिधै जोमसोम गाडीबाटै पनि जान एवम् पोखरा हुँदै गाडीमा जोमसोम पुगेर पदमार्ग हुँदै तिलिचो पुग्न सकिन्छ।
मुस्ताङको जोमसोमबाट बिहानै हिँडेको खण्डमा तिलिचो पुगेर पुनः जोमसोम आइपुग्न सकिने भएकाले पनि यसलाई छोटो मार्ग मान्न सकिन्छ । तर ६० किलोमिटर टाढाको दूरीमा पुगेर पुनः जोमसोम फर्कनु जोखिमबाट मुक्त भने पक्कै छैन। जोमसोमदेखि ठिनी हुँदै मोटरसाइकलमा ठिनीमाथिको डाँडामा पुगेपछि त्यहाँबाट २० मिनेट पैदल यात्रामा नमखुलेक र त्यहाँबाट पैदल ६ घण्टामा पाँच हजार २४५ मिटरको उचाइ भएको मेसोकाण्डो डाँडामा पुगिन्छ । उक्त डाँडाबाट नाङ्गो आँखाले तिलिचो बेसक्याम्प देख्न सकिन्छ भने तिलिचो तालसम्म पुग्नका लागि त्यस स्थानबाट पैदल एक घण्टामा पुगिन्छ।
तिलिचो तालमा पुग्नका लागि मुस्ताङको सदरमुकाम जोमसोमबाट बिहान पाँच बजे हिँडेको खण्डमा तिलिचो ताल पुग्नका लागि करिब ८ घण्टा लाग्छ । बिहान ५ बजे जोमसोमबाट हिँडेर मोटरसाइकल वा गाडीमा १ घण्टा र त्यसपछि पैदल ७ घण्टा जति हिँडियो भने तिलिचो पुगिने र केही समय त्यहाँ आराम र दृश्यावलोकन गरेपछि पुनः फर्केर जोमसोम आइपुग्न समस्या हुँदैन। तिलिचो ताल जान मुस्ताङबाट पाँच हजार दुई सय मिटर उचाइ भएको मेसोकाण्डो डाँडासम्म पुग्न बाइक र पैदल गरी सात घण्टा जति लाग्ने र त्यहाँबाट तिलिचो ताल पुग्न एक घण्टा तर फर्कँदा तिलिचोबाट डाँडासम्म आइपुग्न दुई घण्टाभन्दा बढी लाग्न सक्ने त्यहाँ पुगेर फर्केका पर्यटकहरूले बताउने गरेका छन् । जाँदा उकालो भएको कारण ६ घण्टा लागेको नमखुलेकदेखि डाँडासम्मको यात्रा फर्कँदा भने दुईदेखि तीन घण्टामै आइपुग्न सकिने उनीहरूको अनुभव छ ।




















