spot_img

सिंहदरबारस्थित वैद्यखानाले : लक्ष्यभन्दा आधा कम औषधि उत्पादन, बजारीकरणको सास्ती

spot_img

सिंहदरबारस्थित वैद्यखानाले ०७७÷७८ मा एक सय ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लक्ष्य लिएको थियो । तर, २५ प्रकारका मात्रै औषधि उत्पादन भए । ०७८÷७९ मा वैद्यखानाले १०४ प्रकारको औषधि उत्पादन राख्ने लक्ष्य लिएकोमा जम्मा १५ प्रकारको औषधि मात्रै उत्पादन गर्न सक्यो । ०७९÷८० मा ९८ प्रकारका औषधि उत्पादनको लक्ष्य लिए पनि १५ प्रकारको औषधि मात्रै उत्पादन गर्न सक्यो । आर्थिक वर्षमा ०८०÷८१ मा वैद्यखानाले ३६ प्रकारका औषधि मात्रै उत्पादन  गर्‍यो । ७७ प्रकारका औषधि उत्पादन गर्न सक्ने लक्ष्य लिइएको थियो । गत वर्ष ०८१÷८२ को सम्म हेर्दा ७७ प्रकारका औषधि उत्पादन गर्न सकिने लक्ष्य लिएपछि ४० वटा उत्पादन भए ।

विगतमा भन्दा औषधि उत्पादनमा केही सुधार गरे पनि वैद्यखानाले लक्ष्य भने भेटाउन सकेन । वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले विगतको तुलनामा भने औषधि उत्पादन केही सुधार भएको र नयाँ उत्पादन बढाउन सकेको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा थप १३ प्रकारका औषधि पुनः उत्पादन गर्ने लक्ष्य राखिएको छ । यद्यपि, स्रोतसाधन भने पर्याप्त नभएको उनको भनाइ छ ।

‘वैद्यखानाले विगतदेखि नै धेरे समस्या झेल्दै आएको छ, यहाँ काम गर्न निकै कठिन छ । स्रोतसाधनदेखि कच्चा पदार्थ खरिद गर्नसमेत समस्या छ,’ उनले भने, ‘मुख्यतः हामीकहाँ स्रोतसाधनकै कमी हो, यदि स्रोतसाधन र बजेटको पर्याप्तता हुने हो भने औषधि उत्पादन क्षमता बढाउन सकिन्छ । नेपालमा आयुर्वेदिक संघसंस्थालाई पुग्ने औषधि वितरण गर्न सकिन्छ ।’ केसीका अनुसार वैद्यखाना माथिल्लो तहका कारण नै ओझेलमा परेको छ । वैद्यखाना सुधारका लागि पञ्चवर्षीय योजनाको फाइल तय गरी स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । कार्ययोजना मन्त्रालयबाट स्वीकृत भए वैद्यखानालाई परिवर्तन गर्ने उनले दाबी गरे ।

चालू आर्थिक वर्षका लागि सरकारले वैद्यखानालाई ६ करोड ४० हजार रुपैयाँ विनियोजन गरेको छ । वैद्यखानामा कर्मचारी संख्या ३७ जना भए पनि तीमध्ये अधिकांश कर्मचारी तथा चिकित्सकहरू नियमित काममा आउँदैनन् । जसकारण औषधि उत्पादनमा समेत कठिनाइ हुने गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने बताएका थिए । तर, योजनाको खाका भने तय भएको छैन । पञ्चवर्षीय योजना दुई महिनादेखि स्वास्थ्य मन्त्रालयमा अड्किएको छ । चालू आर्थिक वर्षमा सरकारले सिंहदरबार वैद्यखाना तथा वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसअघि वैद्यखाना कर्मचारीको आपसी विवादका कारण पनि खस्किँदै गएको थियो । बर्सेनि पाँच करोडको बिक्री लक्ष्य लिएको वैद्यखानाको उत्पादन निरन्तर घट्दै गए पनि गत आर्थिक वर्षमा भने केही सुधार देखिएको छ । वैद्यखानाका उत्पादन शाखाको तथ्यांकअनुसार ०६६÷६७ देखि ०६९÷७० सम्म एक सय ५० किसिमका आयुर्वेदिक औषधि उत्पादन हुन्थे । खस्किँदो व्यवस्थापनका कारण ०७१÷७२ देखि ०७४÷७५ को अवधिसम्म आइपुग्दा ४० प्रकारका औषधि उत्पादन भएको तथ्यांक छ । त्यसयता भने कर्मचारीको किचलो र स्वास्थ्य मन्त्रालयको बेवास्ताका कारण उत्पादन घटेको थियो । ०७९÷८० मा १५ प्रकारको मात्रै औषधि उत्पादन भएको थियो । तर गत आवमा भने आयुर्वेदिक औषधि उत्पादनमा केही सुधार भएको तथ्यांकमा देखिएको छ ।

वैद्यखानाले थप्न लागेका १३ प्रकारका औषधि यसअघि उत्पादन भएर बन्द भएका हुन् । बजारमा माग भएपछि कतिपय महत्वपूर्ण औषधि उत्पादन गर्न लागिएको केसीले बताए। उनका अनुसार थप्न लागिएका १३ प्रकारका औषधिमा विपादीकान्त मलम, शक्तिवद्र्धक योगा निम्बादी तेल, कफइन्ड, लिभकेयर, अशोकारिस्ट, अश्वगन्धारिष्ट, दशमुलारिष्ट, अर्जुनारिष्ट, अर्शकुठार रस, डाइबिकेयर, श्वेतपर्पटी र टंकण भष्म औषधि पुनः उत्पादन गर्न लागिएको हो । बजेटको आकार थपिएकाले पनि यस वर्षदेखि थप औषधि उत्पादन गर्न लागिएको केसीले जानकारी दिए ।

वैद्यखानाले गत आर्थिक वर्ष ०८१÷८१ मा आठ करोड ६३ लाख ५५ हजार आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, दुई करोड ४६ लाख ६ हजार १९१ रुपैयाँ मात्र आम्दानी गर्न सक्यो । आव ०८०÷८१ मा ६ करोड आम्दानीको लक्ष्य राखिए पनि एक करोड २४ लाख आम्दानी गरेको थियो । आव ०७९÷८० मा ६ करोड ४६ लाख आम्दानी लक्ष्य राखिएकोमा एक करोड २५ लाख, आव ०७८÷७९ मा पाँच करोड ३७ लाख आम्दानी लक्ष्य राखेकोमा एक करोड ८१ लाख ७५ हजार, ०७७÷७८ मा पाँच करोड ३७ लाख आम्दानीको लक्ष्य राखेकोमा दुई करोड ६२ लाख आम्दानी गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img