मनसुन सुरु भए यता हामी सम्भावित डेंगु प्रकोपको बहसमा छौँ । डेंगु भाइरस एडिस जातको लामखुट्टेले सार्ने गर्दछ । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने योजना अगाडि बढाइरहेका पनि छौँ ।
चिकुनगुनिया नामक अर्को भाइरस पनि यही लामखुट्टेले सार्ने गर्दछ भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । हाल छिमेकी देश भारतमा यो भाइरस तीव्र गतिमा बढेको समाचार आइरहँदा अर्को छिमेकी देश चीनमा भने भाइरसले महामारीको रूप नै लिइसकेको जानकारी आइरहेका छन् ।
अमेरिकाको सीडीसीले चीन जाने योजना भएका आफ्ना नागरिकलाई ‘ट्राभल नोटिस’ नै जारी गरेको देखिन्छ । जुलाई महिनामा देखिन सुरु भएको उक्त भाइरस यो लेख लेख्दैगर्दा झन्डै ५,००० को हाराहारीमा सङ्क्रमण पुष्टि भइसकेको भनिएको छ ।
सन् २०१३ मा मैले गरेको अनुसन्धानबाट पहिलो पटक यो भाइरस नेपालमा पत्ता लागेको थियो । सो अनुसन्धानको लेख सन् २०१४ मा एक अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको थियो । तत् पश्चात् नेपालमा बर्सेनि मनसुन सिजनमा देखिँदै आइरहेकोमा यो भाइरस केही वर्ष यता यसको परीक्षण (सरकारी प्रयोगशालामा) लगभग ठप्प प्रायः भएको छ । तसर्थ हाल यो भाइरसको अवस्था नेपालमा के–कस्तो छ भन्ने जानकारी छैन ।केही दिन अगाडि विश्व स्वास्थ्य संगठनले आगामी दिनमा चिकुनगुनिया भाइरस महामारीको रूपमा फैलन सक्ने भन्दै चेतावनी दिइसकेको छ ।

















