यतिबेला नेकपा विभाजित मोडमा छ भने देश र जनतालाई चुनावमा जान सरकारको आदेश छ। यस्तो अवस्थामा हजारौं लाखौं कार्यकर्ता तपाईंको निर्णयको प्रतिक्षामा रहेका छन्।जता पनि अवश्य तपाईंको उपस्थितिले बेग्लै अर्थ राख्ने र पल्लाभारी हुने हुँदा पार्टीका दुई हस्ति पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीको तानातानमा तपाईं पर्नु भएको सर्वविदितै छ।
तथापि दुवैको व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताका लागि कुन उपयुक्त हुनेछ? देशले भविष्यमा कस्तो खालको नेता र नेतृत्व पाउने छ? भन्ने कुरामा तपाईंको चिन्तन अवश्य रहेको हामी पाउछौँ।यद्यपि धेरै टाढा नगइ तपाईंमाथि पार्टी र नेतृत्वले गरेको कुठाराघातलाई स्मरण गराउदै एकपटक फेरि तत्कालीन अवस्थामा एमाले विभाजन गरेको दिनदेखि तपाईंलाई स्मरण गराउन चाहान्छु। तपाईंको उदाउँदो व्यक्तित्व खरो स्वभाव, कार्यकर्ता तान्ने शैली देखेर तत्कालीन एमालेका नेताहरु चकित थिए।त्यसैले पार्टीले तपाईंलाई उपमहासचिवको पद दियो। त्यो पदलाई सदुपयोग गर्दै तपाईं कार्यकर्ता माझ झन् लोकप्रिय भएपछि तपाईंमाथि झलनाथ खनाल र माधव नेपालको गिद्धे दृष्टि पर्न थाल्यो। अन्ततः तपाईंलाई गुटबन्दी गरे र उपमहासचिव पद खोसिदिए।०५४ सालमा तपाईं उपप्रधान गृहमन्त्री भएपछि पार्टीलाई स्थानीय तहमा व्यापकरुपले जिताउन सफल हुनुभयो। तपाईंलाई पार्टी अध्यक्ष मनमोहन अधिकारीले बधाइ समेत दिनुभयो।
सोही वर्ष महाधिवेशन हुँदा तपाईंलाई ‘कर्नर’ पारिदिए, तपाईंलाई महासचिवमा आउन दिएनन् र पार्टीबाटै निकालिदिए माधव नेपाल गुटल भने झलनाथ गुटले अन्तिममा धोका दिए। त्यो नमिठो विष पिएर तपाईं माले गठन गर्न बाध्य हुनुभयो।०५६ सालमा कांग्रेस र मालेको गठबन्धन सरकार थियो। गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराउँदै थिए। माले र कांग्रेसको चुनावी तालमेल हुँदै थियो। ६० र ४० मा माधव नेपाल पक्षले रातारात गिरिजाबाबुसँग सम्झौता गरेर तपाईंले गर्न लाग्नु भएको तालमेल तुहाइयो।एकातिर तपाईंलाई भनियो, पार्टी विभाजित भएपनि कम्युनिस्ट मत विभाजित हुन नदिने र एमालेसँग समानरुपमा तालमेल गर्ने तर अर्कोतिर माधव गुटले भित्रभित्र कांग्रेससँग साँठगाँठ गरिदिए। तपाईं सोझो मान्छे मानिदिनु भयो। तपाईं हौसिएर ‘कांग्रेसलाई निर्वाचनमा देखाइदिने’ भनेर भाषण गर्नुभयो।
त्यसपछि माधव गुटले गिरिजाबाबुसँग निर्वाचन तालमेल गर्ने भन्दै सरकार बनाएर गौतमलाई सक्ने रणनीति तय भयो। तपाईं र तपाईंको सरकारलाई सडकमा ल्याइयो। तपाईंको पार्टीले ५ लाख भोट त पायो तर तपाईंलाई बर्दियाबाट हराइयो। हारेपछि तपाईंको प्रतिक्रिया नेपाली जनता भेडा रहेछन् भनेको याद होला। एक सिट पनि जित्न सकेन मालेले।यता सीपी मैनालीको चेपुवा, उता माधवको। तपाईंलाई भित्रीरुपले मूल घरमै फर्काउन केपी ओलीले भूमिका खेले। ०५८ फागुनमा तपाईं एमालेमै फर्किनु भयो। ०६२ सालमा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भटृराईलाई रोल्पामै पुगेर बार्ता गरी ६ बुँदे सम्झौता गर्नुभयो।इतिहासमा यो कुराको मूल्यांकन हुनु पर्दथ्यो। तर तपाईंलाई कारबाही गरिनु पर्ने प्रस्ताव गरिए दुःख लाग्दो कुरा थियो। यद्यपि इतिहासले यस कुरालाई समीक्षा गर्ला।कमरेड, तपाईंलाई प्रचण्डहरुले कसरी धोका दिएका थिए, यहाँ स्मरण गर्न चाहान्छु। कटुवाल काण्डमा प्रचण्डले राजिनामा गरेपछि बनेको माधव नेपालको सरकार विरुद्ध तपाईंलगायत ६० जनाले बुझाउन लागेको गोप्य हस्ताक्षरलाई त्यतिबेलाका माओवादीहरुले सार्वजनिक गरीदिएर तपाईंलाई पार्टीभित्र कमजोर र आलोच्य बनाएको याद दिलाउन चाहान्छु।
तपाईंलाई प्रचण्डहरुले प्रयोग त्यहाँ पनि गरे। रोल्पामा पनि गरे। जबकी माओवादीलाई हेर्ने दृष्टिकोण तपाईंको नरम थियो।सन् २००८ को आठौं महाधिवेशन बुटवलमा हुँदै थियो। तपाईंले जोडतोडका साथ झलनाथ खनाललाई साथ दिनुभयो र खनाललाई अध्यक्ष बनाउनु भयो तर तपाईंलाई झलनाथले कहिल्यै साथ दिएनन्, धोका मात्रै दिए।सन २०१४ मा नवौं महाधिवेशन हुँदै गर्दा तपाईंले बुझाएको दस्तावेज अझैं ताजा छ। ‘तपाईंले एमाओवादी समाप्त हुनेछ र कम्युनिष्ट एकता हुनेछ’ भन्नु भयो। त्यसैअनुरुप आज भएको पनि हो।
तपाईंले अघि सारेको महाधिवेशनमा मुख्य नेताको कार्यकाल दुई वर्ष हुने र ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गर्नु भएको थियो। तपाईं जता पुग्यो पल्ला त्यतै भारी हुन्थ्यो। तपाईंले केपी ओलीलाई साथ दिनुभयो पार्टी अध्यक्ष बनाउन।केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भए। पार्टीमा तपाईं उपाध्यक्ष भएपनि कार्यवाहक तपाईंलाई दिइएन। सन् २०१७ मा जब संसदमा प्रधानमन्त्रीका लागि प्रस्ताव गरिदै थियो, त्यहाँ तपाईंलाई उठाइएन। पार्टी अध्यक्ष हार्नका लागि उठ्ने कुरा भएन।झलनाथ खनाल र माधव नेपाल प्रधानमन्त्री र अध्यक्ष भैसकेका मान्छे हार्नका लागि उठ्ने कुरा भएन। बरियतामा तपाईं भएपनि तपाईंका लागि सहमती गरिएन। त्यसैले माधव र खनाल गुटले संसदमा चर्को आवाज उठाउने रणनीति तय गर्दै तपाईंलाई रोक्ने नीति लिइयो।वामदेवलाई बार लगाउनु पर्दछ बरु शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बाटो खोलिदिनु पर्दछ। माधव झलनाथ गुटको सहमति थियो। तपाईं उठे एमाओवादीले सहयोग गर्ने र तपाईंमा बहुमत पुग्ने आधार हुँदाहुँदै पनि शेरबहादुर देउवा ४० प्रधानमन्त्री एक्ला उम्मेदवार बनाइए। यसरी पार्टीभित्रै तपाईंमाथि धोका भयो।

















