जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरको पक्षमा ४ जना नेताहरू उभिएका छन् । अध्यक्ष प्रचण्डको कार्यशैली र भावी नेतृत्वबारे मुखररूपमा बोल्दै आएका उपमहासचिव शर्माजस्तै थप ४ नेताले मात्रै जारी स्थायी कमिटीको बैठकमा फरक मत राखे । शर्मासहित पाँच जनाले प्रचण्डको कार्यशैली सच्याउनुपर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा आफ्ना तर्क राखेका हुन् । यसरी फरक मत राख्नेमा सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राई छन् । बैठकमा बोलेका अधिकांश नेताहरूले भने अहिले अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताएका थिए । उनीहरू फरक मत राख्नेहरूप्रति नै बैठकमा खनिए ।
अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्ग प्रशस्त गर्नुपर्ने मत राख्दै आएका उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा उठेको थियो । शर्माले पार्टी फुटतर्फ लैजान खोजेको र नेतृत्वलाई आरोपित गरेर पार्टी छाड्न खोजेको भन्दै स्थायी कमिटी सदस्यहरुले आत्मालोचित हुनुनपर्ने माग गरेका थिए । तर, आइतबार धारणा राखेका शर्माले भने आफू आत्मालोचित हुन तयार रहेको तर, प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा प्रचण्डले लिनुपर्ने तर्क गरे । साथै उनले विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।
‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो ।’ शर्माले ‘पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन विकल्प भएको बताउँदै बहसका लागि खुला हुनुपर्ने बताए । शनिबार धारणा राखेका राम कार्कीले पार्टीको नेतृत्व रोटेशन प्रणालीमा जानुपर्ने प्रस्ताव गरेका थिए । ‘अध्यक्ष सम्मानित भएर बस्ने, अनि रोटेशनमा नेतृत्व विकास गर्ने,’ शनिबारको बैठकमा कार्कीले सुझाएका थिए, ‘रोटेशनमा आउने व्यक्तिलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनुपर्छ ।’
सचिव कार्कीको प्रस्तावलाई खिसिट्युरी गर्दै उपाध्यक्ष सापकोटाले ‘त्यो कुरै हो, कुराका लागि कुरा त जे कुरा पनि गर्न सकिन्छ’ भनेर टारिदिए । कार्कीको प्रस्तावको औचित्य नरहेको भन्दै उपाध्यक्ष सापकोटाले ‘कम्युनिष्ट पार्टीमा रोटेशन भनेको कुराका लागि कुरा’ भन्दै असम्भव भनेका छन् ।
शनिबार धारणा राखेकी स्थायी कमिटी सदस्य अञ्जना बिसंखेले पनि अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । उनले शनिबार भनेकी थिइन्, ‘अध्यक्ष प्रचण्डले पनि विधानमा टेकेर बस्नुप¥यो, महाधिवेशनको निर्णयलाई पछ्याउनुप¥यो, विधि पछ्याइएको छैन ।’
संगठन निर्माणमा ध्यान नदिएको र नेताहरुको व्यवस्थापन हुन नसकेको भन्दै बिसंखेले पार्टी सही ढंगले नचलेको बताएकी थिइन् । पछिल्लो ८ वर्षदेखि पार्टी जहाँको त्यहीँ रुमल्लिएको उनको तर्क थियो । प्रचण्डले अधिकार आफू केन्द्रीत गर्न खोजेको र फरक मत राख्नेलाई स्थान नदिएको उनको आरोप छ ।
यस्तै स्थायी कमिटी सदस्य पर्शुराम तामाङ र अन्जना तामाङले पनि प्रचण्डले नेतृत्व छाड्नुपर्ने मत राखेका थिए । तर, स्थायी कमिटीका प्रभावशाली र बहुमत नेताहरू अध्यक्ष प्रचण्डविरुद्ध नउभिने निष्कर्षमा पुगेको देखिन्छ ।
शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा आइतबारसम्म ३७ जनाले धारणा राखेका छन् । जसमध्ये दुई सदस्य मात्रै तटस्थ बसेका थिए । स्थायी कमिटी सदस्यहरू प्रह्लाद बुढाथोकी र विश्वनाथ प्रसाद साह अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा दुवैको पक्षमा बोलेनन् । सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोलेपछि बैठक सकिने माओवादी प्रवक्ता एवं उपाध्यक्ष सापकोटाले जानकारी दिए ।
उपराष्ट्रपतिबाट फेरी राजनीतिमा फर्केका पासाङले दिएः’जनार्दन प्रवृत्ति’ खारेज गर्ने धम्की
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमा लगातार असन्तुष्टि जनाउँदै आएका उपमहासचिव जनार्दन शर्मा स्थायी समिति बैठकमा एक्लिएका छन् । प्रचण्डको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेका शर्मा स्थायी समिति बैठकमा एक्लिएपछि उनको आगामी रणनीति कस्तो हुनेछ भन्नेमा चासो बढेको छ ।
शर्माले गल्तीहरू स्वीकार गर्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । तर स्थायी समिति बैठकमा शर्माले बाहेक अरू कसैले पनि प्रचण्डले आत्मालोचना गर्नुपर्ने धारणा राखेनन् । बरु आन्तरिक विषयलाई अतिरञ्जित गरेको भन्दै शर्माकै आलोचना गरे ।
कसले के भने ?
माओवादी उपाध्यक्ष नन्दबहादुर पुन पासाङले शर्मामा अहिले जनयुद्धको समयको ’प्रभाकर’ नदेखिएको टिप्पणी गरे । पासाङको भनाइ भन्दै एक स्थायी समिति सदस्यले भने, ‘प्रभाकर जनयुद्धमा पार्टीका विरुद्ध लाग्नेका विरुद्ध लड्नुहुन्थ्यो । अहिले त्यस्तो पाइनँ । उहाँले अध्यक्षको भनाइ खारेज गर्नुभयो । म तपाईंको यो प्रवृत्ति खारेज गर्छु ।’
पासाङ तीनै नेता हुन् जो दुई कार्यकाल उपराष्ट्रपति भइसकेर हालै माओवादीको पार्टी राजनीतिमा फर्किएका थिए । माओवादीमा प्रचण्डको उत्तराधिकारीको खोजी भइरहँदा जनार्दन शर्मा र वर्षमान पुन आपसमा भिडेका थिए । प्रचण्डले दुवै नेतालाई रोक्न देव गुरुङलाई महासचिव बनाएर चलाखी गरेका थिए । तर फेरि पनि शर्माले नेतृत्वको चुनौती दिन थालेपछि प्रचण्डकै डिजाइनमा पासाङ माओवादी राजनीतिमा फर्केको बताइन्छ । प्रचण्डको सोही रणनीतिबमोजिम पासाङले आइतबार शर्माविरुद्ध तिखो टिप्पणी गरेको चर्चा माओवादी वृत्तमा भइरहेको छ ।
अर्का उपाध्यक्ष कृष्णबहादुर महराले पनि शर्माले पार्टी नेतृत्वविरुद्ध दिएको अभिव्यक्ति सच्याउनुपर्ने बताए । बैठकमा महराले नेतृत्वलाई ड्यामेज गर्ने कुराले पार्टी र माओवादी आन्दोलनलाई नै समाप्त पार्ने काम गरेको धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले महराको भनाइ उद्धृत गर्दै भने, ‘नेतृत्वको क्षति भनेको पार्टी र आन्दोलनको क्षति हो । प्रभाकरले कुरा बाहिर लैजानु गल्ती छ । समीक्षा गरेर गल्ती सच्याउनुपर्छ ।’
अर्का उपाध्यक्ष पम्फा भुसालले पनि शर्माको आलोचना गरिन् । अर्का स्थायी समिति सदस्यले भुसालको भनाइ उद्धृत गर्दै भने, ‘साथीहरूको नयाँ विचार छ भने त्यही तरिकाले आउनुपर्छ । होइन भने विधि मान्नुपर्छ ।’ सचिव दीनानाथ शर्माले पनि सबै नेताले विधिमा चल्नुपर्ने धारणा राखे । ‘पार्टी प्रक्रिया र पद्धतिमा चल्छ । त्यो सबैले मान्नुपर्छ । समाजवाद ल्याउन सबै एक ढिक्का भएर जानुपर्छ । पार्टी विधि नमान्नु अराजकता हो । यो सच्याउनुपर्छ,’ शर्माले भने ।
सचिव हितराज पाण्डेले उपमहासचिव शर्माका धारणाहरू पार्टीलाइनभन्दा फरक सुनिन थालेको बताए । उनले भने, ‘ प्रभाकरले सदनमा व्यक्त गरेको धारणा पार्टी लाइनभन्दा भिन्न छ । उनले संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ । जनार्दनको धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ?’
हालै शर्माले मनमोहन अधिकारीबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको सार्वजनिक टिप्पणी गरेका थिए । शर्माको यो अभिव्यक्तिबाट प्रचण्ड आक्रोशित बनेको चर्चा छ ।