पूर्ण सार्कीः हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करबगाड खोलामा यही साउन १७ गते राति आएको बाढीले बेलिब्रिजमा क्षति पुर्याएको छ।
भेरी करिडोरअन्तर्गत जाजरकोट– डोल्पा सडक खण्ड अन्तर्गत पर्ने यो खोलामा निर्मित बेलिब्रिजको तल्लो भागको जमिन कटान गरेर क्षति बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुक बहादुर खड्काले जानकारी दिएका छन ।
निरन्तर वर्षा सँगैको बाढीले बेलिब्रिजको तल्लो भाग कटान गरेपछि बेलि ब्रिज भत्किने संभावना भएको हुदा ठुला मालवाहक सवारी साधन आवतजावत अलि जोखिम रहेको र साना सवारीसाधन आवश्यक अनुसार सुरक्षाकर्मीले आवतजावत गर्न दिएका छन ।
बाढीले बेलिब्रिजको तल्लो जमीन नै कटान गरी पुल नै जोखिममा परेपछि स्थानीयले भेरी करिडोरलाई जानकारी गराएका थिए। स्थानीयको जानकारी पश्चात अहिले करिडोरले युक्त बेलिब्रिजमा भत्किएको स्थानमा २ दिन पछि अस्थायी मर्मत कार्य सुरु गरेको छ। तर, पुलको अवस्था कमजोर भएका कारण डोल्पातर्फ आउने गरुङ्गो सवारीसाधनको आवागमन हाललाई रोकिएको छ। मर्मत पश्चात भने पुनः सञ्चालनमा ल्याउने बताइएको छ। हलुका सवारीसाधन भने जोखिम मोलेर सावधानीपूर्वक संचालन भइरहेका छन् ।