हिजाेअाज एउटा विषय निकै चर्चामा पशुपति अार्यघाटबाट लाशबाट हड्डी र मासु बेचेकाे विषय। धर्मकाे नाममा निकै अमानवय ढंगले भएकाे यस तस्करीले अहिले सबैलाइ झस्काइ रहेकाे छ। पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी र मासु निकालेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी र मासु बेचेको खुलाशा भएकाे छ।
ढकाल २५ वर्ष देखी पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाए बापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् । केही समय पहिले एक जना अपरिचित व्यक्ति आएर आफूलाई ‘भगवानलाई चढाउन हड्डी चाहियो’ भनेर आग्रह गरेको ढकालले प्रहरीसँग बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हड्डी निकालिदिन आग्रह गर्दै ती अपरिचितले मलाई ४ सय रुपैयाँ दिएका थिए ।’
कोट पाइन्ट लगाएका ती अपरिचित घण्टौँ कुरेर बसेपछि आफूले हड्डी निकालेर आफ्नो सहयोगी विनायक मैनालीलाई बट्टामा राखेर दिएको उनले बताएका छन् । प्रहरी अनुसन्धानमा लामाे समय देखि उनीहरूले शवहरूकाे हड्डी र मासु निकाल्ने गरेकाे खुल्न अाएकाे हाे।
उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । विनायक मैनाली आर्यघाटमा ढकाललाई सहयोग गर्दै फालिएका सामान र कपडा टिप्ने काम गर्छन् । शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा किनबेच भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त गोशालाले अनुसन्धान गरिरहेको छ ।


















