शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको छ ।मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार पाँच सय ४७, प्रदेश २ मा दुई हजार एक सय १०, बागमतीमा पाँच हजार चार सय दुई, गण्डकीमा एक हजार आठ सय ८७, लुम्बिनीमा दुई हजार ६३, कर्णालीमा नौ सय ५५ र सुदूरपश्चिम प्रदेशमा नौ सय ३० जनाले खोप लगाएका छन् ।
खोप लगाएपछि आम रूपमा कुनै पनि स्वास्थ्य समस्या नभएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । ‘केहीलाई सामान्य सिकायत छ । तर, अस्पताल जानुपर्ने गरी समस्या कसैलाई पनि देखिएको छैन,’ उनले भने ।नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो ।
अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो ।स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइने तय भएको थियो । तर, अनुदानमा १० लाख डोज खोप आएकाले पहिलो चरणमा चार लाख ३० हजारलाई मात्र लगाउने तयारी छ । बाँकी खरिद गरी पूरा गरेपछि मात्रै दोस्रो चरणको अभियान सुरु हुने बताइएको छ ।
दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाउने योजना छ । त्यसैगरी तेस्रो चरणका लागि ४० देखि ५४ वर्षका बाँकी सबै ९.५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । तेस्रो चरणमै १५ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ ।हालसम्म विश्वभर नौ करोडले लगाए कोभिड– १९ विरुद्ध खोप
हालसम्म विश्वभर नौ करोड आठ लाखजनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिष्ठित सञ्चार संस्था ब्लुमबर्गले संकलन गरेको तथ्यांकअनुसार हालसम्म ६२ देशमा खोप लगाउने काम सुरु भएको छ ।पछिल्लो तथ्यांकअनुसार दैनिक औसत ४३ लाख ९० हजार डोज खोप विश्वभर लगाइन्छ । अर्बौँ जनतालाई लगाउनुपर्ने कोरोनाविरुद्धको खोप अभियान विश्व इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हुनेछ ।अमेरिकामा १४ डिसेम्बरमा खोप लगाउन सुरु गरिएकोमा हालसम्म दुई करोड ८९ लाख डोज खोप लगाइसकिएको जनाइएको छ । अमेरिकाले हरेक दिन १३ लाख डोज खोप लगाउने गर्छ । त्यस्तै, चीनमा दुई करोड ३० लाख डोज खोप लगाइसकिएको छ ।
चीनमा दैनिक ११ लाख ४३ हजार डोज खोप लगाउने गरिन्छ । युरोपेली संघका मुलुकमा एक करोड १६ लाख डोज खोप लगाइएको ब्लुमबर्गले जनाएको छ । भारतमा हालसम्म २९ लाख २८ हजार डोज खोप लगाइएको छ ।हालसम्म फाइजर–बायोएनटेक खोपले उत्तर अमेरिका, युरोप तथा मध्यपूर्वमा प्रयोगको अनुमति पाइसकेको छ । यो र मोडर्ना खोप ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष दशौँ हजार स्वयंसेवीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो ।पिएलसी र अक्सफोर्ड विश्वविद्यालयले बनाएको एस्ट्राजेनेका खोपले बेलायतमा ३० डिसेम्बरमा प्रयोगको अनुमति पाएको थियो । चीन, भारत र रसियाले पनि आ–आफ्नो मुलुकमा उत्पादित खोपलाई प्रयोगको अनुमति दिइसकेका छन् ।हालसम्म इजरायलले सबैभन्दा तीव्र गतिमा खोप लगाइरहेको छ । उसले एक सयमा ५१ जनालाई खोप लगाइसकेको छ । तर, विश्वका धेरैजसो मुलुकले हालसम्म पनि खोप सुरु गरेका छैनन् ।