चितवनमा सवारी चालकलाई गर्ने कारबाहीको संख्यामा कमी आएसँगै राजश्व संकलन पनि घटेको छ । तर ट्राफिक सचेतनाका कार्यक्रमहरू बढे पनि सवारी दुर्घटनामा भने कमी आएको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतनाका कार्यक्रमहरू उल्लेख्य रुपमा बढ्दा कारबाहीको संख्या र राजश्व संकलन दुवै घटेको दाबी गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ भन्दा गत आर्थिक वर्ष २०८१÷०८२ मा १ करोडभन्दा बढी राजश्व कम संकलन भएको छ । गत आर्थिक वर्ष २३ हजार ४ सय १२ सवारी चालक कारबाहीमा परेको र जम्मा २ करोड १ लाख ३४ हजार मात्रै राजश्व संकलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्ष ४१ हजार ९९८ सवारी साधनका चालक कारबाहीमा पर्दा ३ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा मात्रै ३ करोड ४५ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख शर्माले ट्राफिक सचेतनाका कार्यक्रमहरू उल्लेख्य रुपमा बढ्दा कारबाहीको संख्या र राजश्व संकलन दुवै घटेको जानकारी दिए।
उनले गत आर्थिक वर्ष २६० प्रतिशतसम्म सचेतनाका कार्यक्रम बढाइएको बताए । त्यसबाट ट्राफिक नियम पालनाको दर ४५ प्रतिशत बढेको उनको दावी छ । ‘हामीलाई हरेक तालिममा वा निर्देशनमा राजश्व संकलनमा भन्दा पनि सवारी नियम कानुन कार्यान्वयन र सचेतनामा ध्यान दिन निर्देशन दिने गरिन्छ’ शर्माले भने, ‘सचेतना बढ्दा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आउने नै भयो ।
दुर्घटना संख्या बढ्यो, मृत्यु प्रतिशत घट्यो
शर्माले सचेतना बढाएको बताए पनि जिल्लामा हुने सवारी दुर्घटनाको संख्या भने बढेको पाइएको छ । दुर्घटनाको संख्या बढे पनि मृत्यु प्रतिशत भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा मानिसको मृत्यु ११.४२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा २५.८५ प्रतिशत थियो ।
गत आर्थिक वर्षमा १ हजार ५० वटा साना ठूला सवारी दुर्घटना भएका थिए । यी दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको र १७२ जना गम्भीर घाइते भएको तथ्यांक छ । यसैगरी १ हजार ७०५ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा भने ४४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका थिए । १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका थिए ।
आँपटारी र खैरहनीमा रिफ्रेस सेन्टर
दुर्घटना कम गराउन तथा चालकलाई सचेतना दिन जिल्लाका आँपटारी र खैरहनीमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ । ई–चलानीमा तत्काल जरीवाना तिर्नु नपर्ने भएका कारणले कारबाहीमा परेका सवारी साधन र जरिवाना रकम आउन बाँकी रहेको ट्राफिक प्रहरी प्रमुख शर्माको भनाइ छ । उनका अनुसार ५० लाखभन्दा बढी रकम राजश्वमा आउन बाँकी छ ।
अघिल्ला वर्षमा ट्राफिकले आफूलाई लागे अनुसारको जरिवाना लिने गरेकोमा अघिल्लो आर्थिक वर्षदेखि सरकारले तोकिदिएको मापदण्डका आधारमा जरिवाना लिन थालिएको कारण पनि राजश्व घटेको ट्राफिक प्रहरीका अधिकारीहरुको भनाइ छ । ‘पहिलोपटक कारबाहीमा परेकोलाई ५ सय रूपैयाँ, दोस्रोपटक एक हजार र तेस्रोपटक १ हजार ५ सय रुपैयाँ लिने व्यवस्था छ, हामी चाहेर बढी लिन सक्दैनौं, तर पहिला पहिला लिने चलन थियो’ ट्राफिक प्रमुख शर्माले भने ‘अहिले सवारी साधान र लाइन्सेसका आधारमा कारबाही गरिन्छ, एउटै लाइन्सेस र एउटै सवारीले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ अनि राजश्व पनि बढ्छ, सवारी नवीकरण गर्ने बेलामा सिष्टममा देखिएपछि मात्रै राजश्व तिर्ने चलन पनि छ ।
मापसे गरेर सवारी चलाउनेहरुको संख्या उस्तै
जिल्लामा मापसे गरेर सवारी चलाउनेहरूको संख्या भने उस्तै देखिएको छ । गत आर्थिक वर्षमा १ हजार २ सय जनाले मापसे गरेर चलाएको भेटिएपछि कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुले जानकारी दिए । उनीहरुबाट ६ लाख ५० हजार राजश्व संकलन भएको छ ।
अघिल्लो वर्ष २०८०÷८१ मा १ हजार २१९ जनाले मापसे गरेको र उनीहरुबाट १२ लाख १९ हजार राजश्व संकलन भएको तथ्यांक छ ।
आर्थिक वर्ष २०७९÷८० मा ४६१ जनालाई मापसे कारबाही गर्दा ४ लाख ६१ हजार राजश्व संकलन भएको थियो छ । आर्थिक वर्ष २०७८÷७९ मा ७३९ जना मापसेको कारबाहीमा परेका थिए ।
सबैभन्दा बढी दुर्घटना झम्के साँझमा
चितवन जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना साँझ ६ बजेदेखि राति १२ बजेको बीचमा हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष साँझ ६ बजेदेखि राति १२ बजेसम्ममा ४१४ वटा सवारी दुर्घटना भएका छन् । यो समयमा मापसे गरेर सवारी चलाउने र सबै सडक प्रयोगकर्ताहरु गन्तव्यमा वा घर पुग्न हतार गर्दा दुर्घटना बढेको देखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शर्माले जानकारी दिए ।
प्रहरीले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मलाई पहिलो समय खण्ड, दिउँसो १२ देखि साँझ ६ बजेसम्मलाई दोस्रो समय खण्ड, साँझ ६ बजेदेखि राति १२ बजेसम्मलाई तेस्रो समय खण्ड र राति १२ बजेदेखि बिहान ६ बजेसम्मलाई चौथो समय खण्ड गरेर सवारी दुर्घटनाको विष्लेषण गरेको थियो ।
सो विश्लेषणको आधारमा सबैभन्दा बढी साँझ ६ बजदेखि राति १२ बजेको बीचमा र दिउँसो १२ बजेदेखि साँझ ६ बजेको बीचमा बढी दुर्घटना भएको पाइएको छ ।