काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव काठमाडौं आउन लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्रीले प्रधानमन्त्री ओलीलाई औपचारिकरूपमा भारत भ्रमणको निम्तो दिनेछन्। भ्रमणले दुई देशबीचको उच्चस्तरीय द्विपक्षीय सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतको भनाइ छ। भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मिश्रीसँगको संवादपश्चात प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउस वा बोधगया वा अन्य स्थानमा द्विपक्षीय वार्ता हुने टुंगो लाग्ने छन्। प्रधानमन्त्री ओली भदौ ३१ (सेप्टेम्बर १६)मा भारत भ्रमणमा जाँदैछन्। भारतको भ्रमण अगाडि भदौ १४ गते ओली चीन जाँदैछन्। सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा विशेष पाहुनाको रूपमा उपस्थित ओली बेइजिङ जान लागेका हुन्।