स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने जानकारी दिएका छन् ।
आज ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने जानकारी दिए । नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अङ्गहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले जानकारी गराए ।
उनले यदि मानव अङ्ग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने जानकारी दिए। मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अङ्गहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उनले जानकारी दिए।
मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको उनले जानकारी दिए ।