भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित बाकुडाको बाढीपहिरोमा बेपत्ता बर्दियाका ५ जनाको उद्धारमा गएको एसडीआरएफ स्टेट डिजास्टर रेस्पोन्स फोर्स टोली पनि शनिबार फर्केको छ ।
साउन २१ गतेको बाढीपहिरोमा परि बर्दियाका मात्रै ५ जना बेपत्ता भएका थिए । एसडीआरएफ घटनास्थलबाट करिब १ सय किमि दुरीमा रहेको धुमाकोटसम्म पुगेर फर्केको त्यहाँका मजदुरले जानकारी दिएका छन् ।
१० दिनसम्म खोजी गर्दा एउटा हातबाहेक अरू फेला नपरेपछि उनीहरु फर्केको बाकुडामा मजदुरी गरिरहेका चित्रबहादुर पौडेलले जानकारी दिए। ‘ठूलो पानी प¥यो भने मात्रै लेदो बगाएपछि बेपत्ता फेला पर्न सक्छन् भन्दै हाललाई खोजी कार्य स्थगित गरेको एजानकारी सडीआरएफले दिएका छन्,’ उनले भने ।
बेपत्ता भेटिने आस हराएपछि सडक निर्माणमा खटिएका नेपालीहरू पनि काममा लागिसकेका छन् । त्यहाँ बर्दियाका २८ र बाँकेका १३ मजदुर सडक निर्माणमा संलग्न रहेको पौडेलले बताए । ६० किमि दुरीमा ठाउँठाउँमा सडकको पर्खाल निर्माणमा उनीहरु खटिएका छन् । निकै विकट ठाउँ भएकाले जोखिम रहेको पौडेलले जानकारी दिए ।
नेपाली नागरिक बेपत्ता भएको दस दिन भए पनि नेपाली दूतावासबाट कोही पनि नआएको त्यहाँस्थित नेपाली मजदुरले दुःखेसो पोखेका छन् । ’भारतबाट विधायक, प्रहरीसमेत आएर सोधीनिधी गरे तर दूतावासबाट कोही आएनन्,’ बेपत्ता गुलरिया २ का सुभाष दमाईका बाबु सोमबहादुरले भने ।
बेपत्ता फेला नपरेकाले बर्दियाका पाँच जनाका परिवारले किरिया गरेका छन् । मृत्यु दर्ता भारतीय अधिकारीले अहिलेसम्म गरेका छैनन् । केही समयअघि उत्तराखण्ड राज्यको पौडी अलिसेनका प्रहरीका इन्सपेक्टर लखन सिंहले हात भेटिएको मुचुल्का उठाएका थिए । मृत्यु दर्ताका लागि एक महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएको पौडेलले सुनाए ।
मधुवन नगरापलिका ६ गाउँ नम्बर ४ का एकै परिवारका नरेन्द्र खड्का, उनकी श्रीमति सरस्वती र २२ महिनाका छोरा रोमन बाढीपहिरोबाट बेपत्ता छन् । मधुवन ६ गाउँ नम्बर ८ का रामु परियारकी श्रीमती अमृता र गुलरिया २ का सुभाष दमाई पनि बेपत्ता भएका छन् ।
घाइते रामु परियारका छोरी र गम्भीर घाइते लक्ष्मी परियारको सुशीला तिवारी अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ ।
भारत दिल्लीस्थित नेपाली राजदूतावासका एसएसपी प्रकाश मल्लले सडक धेरै ठाउँमा क्षतिग्रस्त भएकाले जाने अवस्था नरहेको बताए । ’सडक मर्मतपछि दूतावासबाट कर्मचारी जाने कुरा छ,’ उनले भने, ‘भारत सरकारले शव फेला नपरेसम्म मृत्यु भएको पुष्ट्याइँ गर्दैन ।