उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिँदैछ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले मंगलबार दिउँसो १ बजे संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले महाअभियोग प्रस्तावका लागि सांसदहरूको हस्ताक्षर बटुलिरहेका छन्। एमालेका केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका थिए।
सोमबार साँझ बालुवाटारमा बसेको कांग्रेस र एमालेका नेताहरूबीचको बैठकमा उपसभामुखविरुद्ध महाअभियोग लगाउने सहमति भएको बताइएको छ।
प्रधानमन्त्री ओलीसँग कांग्रेस उपसभापति पूर्णबहादुर, गृहमन्त्री रमेश लेखकलगायत नेताहरूले छलफल गरेका थिए।
संवैधानिक परिषदमा नेपाली कांग्रेसको उपस्थिति जनाउन देउवाले आफ्नो भाग खोजेपछि प्रधानमन्त्री ओली उपसभामुखलाई हटाउन राजी भएका हुन्।
त्यसो त संवैधानिक परिषदमा प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा देखिन्छन्। मानव तस्करी प्रकरणमा मुछिएको आरोपपछि उबेलै कांग्रेस-एमाले लगायतका दलले उपसभामुखलाई हटाउन कसरत गरेका थिए।