ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका भित्रका १४ विद्यालयमा अध्ययनरत १५ सय विद्यार्थीलाई डिजिटल डिभाइस हस्तान्तरण गरिएको छ । युनिसेफ नेपालको सहकार्य तथा अकेलस डिजिटल इनसियटिभको सहयोगमा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीलाई डिजिटल डिभाइस हस्तान्तरण गरिएको हो ।
डिजिटल प्रयोगशाला उद्घाटन तथा डिभाइस हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख हरिगोविन्द श्रेष्ठले युनिसेफ नेपालको सहयोगमा सुरु भएको कार्यक्रमले डिजिटल शिक्षाकाे आधार तयार हुने बताए । विद्यालयमा हस्तान्तरण गरिएको डिजिटल डिभाइस प्रयोगमार्फत सिकाइलाई आधुनिक र दक्ष बनाउन मद्दत पुग्ने उहाँकाे भनाइ छ। कार्यक्रममा महालक्ष्मी नगरपालिकालाई ४२० वटा क्रोमबुक, २५२ वटा ट्याबलेट, ६७२ वटा हेडफोन र १५ वटा चार्जिङ स्टेसन हस्तान्तरण गरिएको छ । नगरपालिकाले उक्त डिजिटल उपकरण विद्यार्थी संख्याका आधारमा सबै सामुदायिक विद्यालयमा वितरण गरिने छ।
प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाले डिजिटल डिभाइस र प्रयोगशालाको पहलले महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयलाई डिजिटल शिक्षण–सिकाइतर्फ अघि बढाउने विश्वास व्यक्त गरे। ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गाना, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन, नगर कार्यपालिका सदस्य तथा शिक्षा समितिका सदस्य पूर्णलक्ष्मी लोहला र जयन्ती महर्जन, नगर शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, युनिसेफ नेपालका बैशाली प्रधान र पूर्णिमा गुरुङ लगायतको उपस्थिति थियो।
महालक्ष्मी नगरपालिकालाई डिजिटल सिकाइ प्रवद्र्धनको नमुना नगरपालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएकाे छ।