काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ दुई ठुला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्।
कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरेका हुन्। गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भएपनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।
‘दुई ठुला पार्टीहरू सरकारमा हुनुहुन्छ। तपाईंहरुसँग बढी जिम्मेवारी छ। दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने।
उपमहासचिव पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए। आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे।