काठमाडौं, अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ ।डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो ।
पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । पाकिस्तानले सेमिफाइनल खेल्ने प्रवल सम्भावना रहँदा नेपाललाई भने जित आवश्यक रहनेछ र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।
नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।