राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो जित दर्ता गरेको छ । उसले बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई १२–० ले पराजित गरेको हो ।आर्मीको सहज जितमा शर्मिला थापाले ५ गोल गर्दा सपना लामाले २, विमला चौधरी, हेमा चौधरी, अञ्जली वाइबा, रश्मी घिसिङ र विमला विकले समान १–१ गोल गरे ।हेमाको गोलमार्फत खेलको तेस्रो मिनेटमै आर्मीले अग्रता लियो । शर्मिलाले छैटौं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाइन् ।
अञ्जलीले आठौं मिनेटमा तेस्रो गोल गर्दा १३औं र २३ औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पुरा गरिन् ।२९औं मिनेटमा शर्मिला र ३० औं मिनेटमा विमला चौधरीले गोल गरे । ३८ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौं गोल गर्दा आर्मीले पहिलो हाफमा ८–० को अग्रता लियो ।पहिलो हाफमा ८ गोल गरेको आर्मीले दोस्रो हाफमा ४ गोल थप्यो । ४८ औं मिनेटमा विमला विकले र ८४ औं मिनेटमा रश्मीको गोल मार्फत आर्मी १०–० ले अघि बढ्यो ।
८७ औं र दोस्रो हाफको अन्त्यतिर सपनाले गोल गरेपछि आर्मीले १२–० को सहज जित हात पारेको हो ।यो जितसँगै आर्मी ६ खेलबाट १३ अंक जोड्दै लिगको दोस्रो स्थानमा कायम छ । पराजय ब्यहोरेको चौदण्डीले हाल सम्म कुनै अंक जोड्न सकेको छैन ।