रूपक कुलाल,डाेल्पा
नेपालकाे सबैभन्दा पछि पत्ता लागेकाे गाउँ हाे उपल्लाे डाेल्पामा पर्ने हिमाल पारि रहेकाे “कु गाउँ”। शे–फोक्सुण्डो गाउँपालिकाकाे वडा नम्वर–७ का वडा अध्यक्ष पेमा छिरिङ गुरुङ तथा आम जनसमुदायको धेरै प्रयासमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा आएको जानकारी दिए।
अध्यक्ष गुरूङले याे टावर जाेड्ने कठिन काममा सहयोग गर्नु हुने शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरूङ र उपाध्यक्ष पेम्मा आङ्छेन,वडा नं. १ का वडा अध्यक्ष जिग्मे छोइङ लगाएत सबै जनप्रतिनिधिहरू तथा नेपाल टेलिकमका प्राविधिक लगाएत सबै सबैलाइ वडाकाे तर्फबाट र कु गाउँकाे सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका छन्।
नेपालकै कान्छो गाउँ ‘कु गाउँ’मा नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालन हुनु मेराे वडामा निर्वार्चित भएदेखिकाे ठुलाे उपलब्धि भएको वडा अध्यक्ष गुरूङकाे भनाइ छ। साथै,यसप्रति आम जनसमुदाय पनि निकै खुशी र उत्साहित भएको उनकाे दावी छ।
कु गाउँकाे बारेमा अन्य जानकारी पनि थाहाँ पाउनुहाेस्
शे फोक्सुण्डो गाउँपालिकाकाे वडा नम्वर ७ स्थित रहेकाे कु गाउँ सदरमुकाम दुनैबाट करिव १ हप्ता भन्दा बढि समय लाग्दछ। राज्यकाे पहुँचबाट निकै टाढा रहेकाे याे गाउँमा ४० मात्र घरदुरी छन् भने १ सय ५० जनसंख्या रहेकाे छ।
कु गाउँमा आलु,मकै,सिमि,स्याउ,फापर,गाेलभेडा,जाैँ,उवा,गहुँ लगाएतका बाली उत्पादन हुन्छन् भने चाैँरी,च्याङ्ग्रा,घाेडा लगाएतका पशुवस्तुहरू स्थानीयले पाल्ने गरेका छन्।
यहाँका स्थानीय बुद्द धर्म मान्दछन्। गाउँमा श्री टाशि सुम्दाे आबि विद्यालय रहेकाे छ । विद्यालयमा करिव ४० जना विद्यार्थी निरन्तर अध्ययनरत गरिरहेका छन्।